नुतनकाे ब्यावसायिक यात्रा ,होटल मजदुर देखि ट्राभल्स सञ्चालक सम्म

Enepal Patra Pvt. Ltd. , ४२४  पटक हेरिएको

उर्लाबारी , २८ भदौ । पूर्वी मोरङका दुई शहर उर्लाबारी र पथरीशनिश्चरेमा यति बेला ब्यापारीहरू आफ्नो नेता छान्न चुनाबी अभियानमा होमिएका छन् । उर्लाबारीमा भदौ ३१ गते निर्वाचन हुँदैछ भने पथरीशनिश्चरेमा भदौ २८ गते ।
सामान्यतया निर्वाचनमा सफल ब्यावसायीलाई नेता बनाउनुपर्छ । उनको ब्यवसायिक सफलताका पछि अरु ब्यापारी पनि लाग्न प्रेरित गर्नुपर्छ । ब्यापार ब्यवसाय टाट उल्टिन गरिदैन । नेताका आशिर्वादमा उम्मेद्वार बनेका ब्यक्तिले आफ्नो भन्दा पनि आफूलाई आशिर्वाद दिने ब्यक्तिको हितमा काम गर्ने गर्छ । उर्लाबारीमा स्वतस्फुर्त ब्यवसायमा प्रवेश गर्नु भएका नुतन राई सफल ब्यवसायी मानिनुहुन्छ । उहाँ यतिबेला उर्लाबारी उद्योग वाणिज्य सङ्घमा सदस्य पदको उम्मेद्वार बन्नुभएको छ । शुन्यबाट ब्यापार थालेर १० वर्षमै ब्यापारिक सफलता प्राप्त गर्नुभएका ३० वर्षीय नुतन चर्चाको शिखरमा हुनुहुन्छ ।
को हुन् नुतन ?
२०६४ सालमा एसएलसी उत्तीर्ण गरेपछि भोजपुरको सानोदुम्बाबाट उच्च शिक्षा अध्ययनका लागि १६ वर्षे किशोर नुतन राई तराई झर्नुभयो ।
सम्भावनाको खोजिमा तराई झर्नु भएका नुतनका थुप्रै आफन्त थिए । कोही कसैको भर खोज्नु भएन उहाँले । आफन्तसँग हार गुहार गर्दा उहाँको दैनिकी सरल बन्थ्यो । गोजीमा दुई चार पैसा जम्मा हुन्थ्यो । तर, उहाँले तराईको गर्मीमा एक्लै संघर्ष गरेर स्थापित हुने सपना देख्नुभयो । उर्लाबारीमा केही काम गर्ने अनि डेरा बसेर कलेज पढ्ने सपना थियो नुतनको । कलेजमा भर्ना भएपनि उहाँलाई आर्थिक समस्याले दुख दिनथाल्यो । त्यसपछि नुतन मङ्गलबारेको आइडियल मेमोरियल बोर्डिङ स्कुल पढाउँदै कलेज पढ्न थाल्नुभयो । बोर्डिङको जागिर, थोरै आम्दानी । घरभाडा,खानानास्ता, कलेज शुल्क , बाँच्नै गाह्रो । पहाडमा पनि उति राम्रो आर्थिक ब्यवस्था थिएन । त्यसैले घरसँग कहिल्यै पैसाको अपेक्षा गर्नुभएन ,उहाँले ।
ओठ माथि भरखर जुँघाको रेखी बस्दै गरेको एउटा किशोर । जातले हो भने बेलैमा लाहुर जानुपर्ने । एसएलसी पास हुना साथ आफन्तले लाहुर लाग्न पनि सुझाए थिए । लाहुर नलागे बैदेशिक रोजगारमा जान आग्रह गरे । तर, नुतनले नेपालमै सम्भावनाको खोजिगर्न छोड्नु भएन । उर्लाबारीको बसाईमा धेरै बाधा उल्झन भएपछि उहाँ नयाँ सम्भावनाको खोजिमा काठमाडौं हानिनु भयो । काठमाडौंमा पनि आफन्त कोही थिएनन् । जागिरका लागि न प्रमाणपत्र थिए । न कुनै तालिम नै लिएको थियो । सबैभन्दा छिट्टो पाइने काम थियो , होटलमा भाडा माझ्ने । उहाँ बालाजुको एउटा होटलमा भाँडा माझ्न थाल्नुभयो । झण्डै २ वर्ष काम गरेपछि उहाँ पुन उर्लाबारी फर्किएर छापाखानामा काम गर्न थाल्नुभयो । छापाखाना र ट्राभल्स कम्पनीमा दिन र रात गरेर १८ घण्टा काम गर्दा नुतनले ३ वर्षको अवधिमा ७६ हजार रुपियाँ बचत गर्नुभएछ । त्यसपछि उहाँलाई बिदेश गएर धेरै पैसा कमाउने भूत चढ्यो । बिदेश जान सन् २०११ मा राहदानी बनाउनु भयो ।
राहदानी बनाए पनि उहाँ बिदेश जानु भएन । जहाँ काम गर्नु भएको थियो ,त्यही ट्राभल्स कम्पनीका सञ्चालकले कम्पनी बिक्री गर्ने हुनुभयो । ब्यापारमा सम्भावना देखिरहनु भएका नुतनले स्वदेश मै जोखिम मोल्ने निर्णय गर्नुभयो । हातमा राहदानी बोकेर उहाँ पिके ट्राभल्स नामको कम्पनी खरिद गर्ने निर्णयमा पुग्नुभयो । २०६८ सालमा चारु सुनचाँदी पसलबाट पैसा ब्याजमा लिएर उहाँले ट्राभल्स कम्पनी सञ्चालन गर्न थाल्नुभयो ।
एक दशकको बीचमा नुतन राईको कम्पनी पिके ट्राभल्स एण्ड टुर कम्पनी प्रालिमा रुपान्तरण भइसकेको छ । आफ्नै नीजि घरमा श्रीमती र दुईवटा छोरासँगै बस्दै आउनु भएका राई संघर्षले जन्माएका ब्यवसायी हुनुहुन्छ ।
चुनाव जितेपछि के गर्ने भन्ने जिज्ञाषामा नुतन भन्नुहुन्छ–उर्लाबारी शहरलाई ब्यावसाय मैत्री बनाउनु पर्छ । ब्यापार गर्ने वातावरण छैन् । तर, करका लागि ताकेता आउन थाल्छ । स्थानीय प्रशासन , सरकार र नागरिक समाजबीच उद्योगी ब्यापारीको सुमधुर सम्बन्ध कायम गर्न आवश्यक छ । सदस्यले कति गर्न सक्छ तर,म ‘ग्रासलेबल’बाट उठेको ब्यवसायी भएकोले ब्यावसायीलाई आस्था र सम्बन्धका आधारमा दुख दिने प्रवृतिको बिरोधी हुँ । म ब्यापारीहरूले कसैसँग पनि पैसा खर्च गरेर सम्बन्ध स्थापित गर्नु हुन्न भन्ने मान्यता राख्छु । प्रशासन र स्थानीय सरकारले ब्यापारको वातावरण गरिदियो भने ब्यापारीले कर तिर्न आनाकानी गर्नु हुन्न । उहाँले थप्नुभयो–विष्णु भण्डारी जस्ता ब्यवसायमा आउन चाहनेहरूलाई सहज वातावरण र कानूनी जटिलता अन्त्य गर्न सहयोग पु¥याउने मेरो मुख्य ध्येय हो ।

प्रकाशित मिति: २०२१-०९-१३ , समय : १०:०५:११ , ३ वर्ष अगाडि