नेपाल भारत सीमा क्षेत्रको मोरङ खण्डमा तीन वटा वीओपि थपिए

Enepal Patra Pvt. Ltd. , ६१९  पटक हेरिएको

हरिप्रसाद कोइराला
रतुवामाई(मोरङ), ३० साउन । आर्थिक वर्ष २०७७/०७८मा भारतसँग सीमाना जोडिएका मोरङका तीन स्थानमा वोर्डर अब्जरवेसन पोष्ट(बीओपी)राखिएको छ । तीन वटा पोष्ट थपिएसँगै मोरङमा बीओपीको सङ्ख्या ११ पुगेको छ ।
मोरङ–२ का संघीय सांसद डा.मीनेन्द्र रिजालले सांसद विकास कोषबाट बजेट उपलब्ध गराउनु भएपछि बीओपी स्थापना भएका हुन् । रतुवामाई –३ को मिर्चाडाँगी र सुनवर्सी –ं.८ को सिक्टीमा सांसद विकास कोषको खर्चबाट बीओपी स्थापना भएका हुन् । रङ्गेली –ं.५ को धनापटीमा निर्माण भएको बीओपी रङ्गेली नगरपालिकाको खर्चमा बनेको हो । रतुवामाईको मिर्चाडाँगीमा निर्माण भएको बीओपी निर्माणका लागि सांसद विकास कोषले १० लाख रुपियाँ विनियोजन गरेको थियो । यस्तै सुनवर्सी नगरपालिकाको सिक्टीमा निर्माण भएको पोष्ट निर्माण गर्न सांसद विकास कोषबाट १० लाख र नगरपालिकाले ५ लाख रुपियाँ उपलब्ध गराएको हो । रङ्गेलीको धनापटीमा निर्माण भएको वीओपी निर्माण गर्न रङ्गेली नगरपालिकाले १६ लाख रुपियाँ उपलब्ध गराएको हो ।
सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण कंकालिनी मोरङले दिएको जानकारी अनुसार सरकारले नेपाल–भारत सीमा क्षेत्रमा ५ सय वटा बोर्डर अब्जरवेसन पोष्ट बनाउने योजना बनाएको छ । सोही योजना अन्तरगत सांसद विकास कोष र नगरपालिकाको सहयोगमा शसस्त्र प्रहरी बलले मोरङमा तीन वटा पोष्ट थपेको हो । राज्यले सीमा क्षेत्रको प्रत्येक साडे ३ किलोमिटरमा एउटा बीओपी राख्ने नीति तय गरेको ३ नं. गण कंकालिनीले जनाएको छ । सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउने उदेश्यले बीओपीको स्थापना गरिएको बताइएको छ । बोर्डर अब्जरबेसन पोष्ट निर्माणका लागि जहाँ जग्गाको अभाव थियो , त्यस क्षेत्रमा पनि दाताले जग्गा उपलब्ध गराउनु भएपछि पोष्ट निर्माणमा सहयोग पुगेको छ । सांसद विकास कोष र नगरपालिकाले सहयोग उपलब्ध गराएको भन्दा ३ गुण बढी काम भएको ३ नं. गण कंकालिनीले जनाएको छ । आन्तरिक स्रोत र आफ्नै जनशक्ति परिचालन गरेर प्रत्येक बीओपी निर्माणमा ५० लाख बढीको काम भएको ३ नं.गणले बताएको छ ।

प्रकाशित मिति: २०२१-०८-१४ , समय : २०:२७:०० , ३ वर्ष अगाडि