सैलुन ब्यावसायमा दिनेशको अनुभव– पैसा कमाउन बिदेश जानु पर्दैन

Enepal Patra Pvt. Ltd. , १०६९  पटक हेरिएको

हरिप्रसाद कोइराला
कानेपोखरी(मोरङ),३० साउन । मोरङको कानेपोखरी–७ का २८ वर्षीय दिनेश जातले किराती समूदायको हुनुहुन्छ । राई समूदायमा जन्मिए पनि उहाँलाई ब्यावसाय गर्न न जातले रोकेको छ, न समाजले छेकेको छ । हातमा सीप र मनमा आँट भए जुनैसुकै जात वा समूदायका मानिसले ईच्छाएको पेशाबाट जीविकोपार्जन गर्न सक्छन भन्ने उदाहरण बन्नु भएको छ,दिनेश राई ।
कुनै समय नेपालमा भारतीय मुलका ठाकुरहरूको एक छत्र राज थियो, कपाल काट्ने शैलुन ब्यावसायमा । चना चटपटे र पानीपुरी बनाउने,कपडा सिउने मात्र होइन,फलफुल ब्यापार, मिठाई पसल र कृषि मजदुरमा पनि भारतीय कै भरपर्नु प¥थ्यो । भारतबाट रोजगारका लागि आएका उनीहरूले वार्षिक करोडौं रुपियाँ नेपालबाट लाने गर्थे । तर, अहिले समय बदलिएको छ । चनाचटपटे र सिलाईमा मात्र होइन, पहाडे समुदायका युवाहरूपनि शैलुन पेशा प्रति आकर्षित हुन थालेका छन् । दिनेश भन्नुहुन्छ–‘पैसा आफ्नै देशमा रहेछ । दुख गरेर कमाएको पैसा खर्चेर ५ वर्ष बैदेशिक रोजगारका लागि कतार बस्नु भएका दिनेश अहिले स्वदेश कै कमाईसँग सन्तुष्ठ हुनुहुन्छ । दिनेशले गत वर्षको साउनमा कानेपोखरी– ७ को आइतबारे बजारमा सैलुन ब्यावसाय थाल्नु भएको हो । त्यसयता राईले एकदिन पनि खाली बस्नु परेको छैन्। मधेसी समूदायका थुप्रै ठाकुरहरूले आइतबारे बजारमा आएर सैलुन चलाए । झण्डै ५५ वर्ष पुरानो आइतबारे बजारमा कसैले पनि ब्यावसाय टिकाउन सकेका थिएनन् ।
काठमाडौंमा ६ महिना सौन्दर्य (ब्युटिसियन) तालिम सिकेपछि उहाँ सैलुन ब्यावसायमा छिर्नु भएको हो ।
स्थानीय जनकल्याण माविबाट एसएलसी उत्तीर्ण भएपछि उहाँले २ वर्ष उच्च मावि तहको अध्ययन गर्नुभयो । आफ्नो पढाई प्रति आफै असन्तुष्ट भएपछि उहाँ पैसा कमाउने सपना बोकेर कतार भासिनु भयो । तर, ५ वर्षको कतार बसाईले पनि उहाँको सपना पुरा भएन । उहाँ भन्नुहुन्छ –मेरो दाजु पनि यही पेशामा हुनुहुन्थ्यो । त्यसैले दाजुको ब्यावसायिक सफलताका पछि लागें । औषत मानिसलाई बन्दाबन्दीले गरिखान दिएन । दिनेश त्यस्ता ब्यावसायि हुनुहुन्छ जसलाई बन्दाबन्दीले कैंची र काँइयो चलाउन निपूर्ण बनायो । उहाँले भन्नुभयो–बन्दाबन्दीको समयमा धेरै जना साथीभाइको कपाल निशुल्क काट्ने अवसर पाएँ । काठमाडौंमा सीप सिक्दाको सबैभन्दा ठूलो समस्या नै काइयो र कैंची कसको टाउकोमा चलाउन पाइन्छ भन्ने थियो । गाउँ आएपछि त्यो समस्या हल भयो । जसले गर्दा ब्यावसायिक बन्न अझ बढी प्रेरणा मिल्यो । अहिले दिनेशको हात राम्रो गरी काममा बसेको छ । यतिबेला दिनेशलाई मासिक ३०÷३२ हजार रुपियाँ कमाउन कुनै लडाई जित्नु पर्दैन । राईले भन्नुभयो– हातमा सीप र मनमा आँट भएपछि पैसा कमाउन , न त धेरै पढ्नु पर्दो रहेछ , न बिदेश नै जानु पर्दो रहेछ ।
मासिक दुई हजार रुपियाँ घर भाडा तिर्दै आउनु राईले सैलुनलाई निक्कै ब्यवस्थित गर्नु भएको छ । ६० हजार रुपियाँ लगानी गरेर ब्यावसाय थाल्नु भएका राई सिक्न चाहने साथीहरूलाई पनि सीप प्रदान गरिरहनु भएको छ ।

प्रकाशित मिति: २०२१-०८-१४ , समय : २०:११:२० , ३ वर्ष अगाडि