कांग्रेस महाधिवेशन मङ्सिरमा हुने !

Enepal Patra Pvt. Ltd. , ४३१  पटक हेरिएको

काठमाडौँ २१ साउन । नेपाली काँग्रेसको महाधिवेशन भदौ तेस्रो साता वडा अधिवेशन आरम्भ गर्दै त्यसपछि मंसिरमा महाधिवेशन गर्ने सम्बन्धमा नेताहरुबीच छलफल भएको बुझिएको छ । किनकि, यसबीचमा दसैं, तिहार, छठजस्ता पर्वै–पर्व पर्छन् । भदौमा आरम्भ भएको महाधिवेशन प्रक्रिया मंसिरसम्म मात्र सम्पन्न हुने सम्भावनाको अनुमान गर्न थलिएको छ ।

नेपाली काँग्रेसको महाधिवेशनको तिथिमिति निर्धाण भएको भएपनि हुने, नहुने अन्योलमै छ । रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले साउन १२ गते आफ्नो प्रतिवेदन बुझाएको पनि हप्ता–दश दिन भइसकेको छ । काँग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चितप्रायः भइसक्दा पनि पार्टीले कुनै स्पष्ट निर्णय लिन नसकेकोमा केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य कल्याण गुरुङले असन्तुष्टी जनाएका छन् । केन्द्रीय कार्यसमितिले पटकपटक गरी डेढ वर्ष आफ्नै कार्यकाल लम्ब्याइसकेको संवैधानिक बाध्यताका कारण भदौबाट महाधिवेशन सार्न सक्ने अवस्था पनि छैन ।

भदौमा महाधिवेशन नहुने प्रायः निश्चित, १३ निर्वाचन क्षेत्र र ११० वडामा क्रियाशीलमा विवाद

सभापति शेरबहादुर देउवालाई बुझाएको उक्त प्रतिवेदनमा १३ निर्वाचन क्षेत्र र १ सय १० वटा वडामा क्रियाशील सदस्यता विवाद रहेका छन् । महाधिवेशनका लागि पहिलो सर्त नै क्रियाशील सदस्यहरूको नामावली प्रकाशन हो । साउन १२ गतेका लागि तोकिएको कांग्रेसको वडा अधिवेशन प्रभावित भइसकेको छ । अहिले कोरोना महामारीको अवधिलाई शून्य समय मानेर समय थप्ने कसरत भइरहेको बुझिएको छ । यसका लागि निर्वाचन आयोगलाई विश्वासमा लिन खोजिएको संस्थापन निकट एक केन्द्रीय सदस्यको भनाइछ । तर पौडेल समूहमा रहेका एकजना केन्द्रीय सदस्यले भने– चार वर्षमा सम्पन्न गर्नुपर्ने महाधिवेशन साढे पाँच वर्षमा पनि गर्न नसक्नु नेतृत्वको असफलता हो । अयोग्यता हो । केन्द्रीय कार्यसमितिको कमजोरी हो ।

शीर्ष नेताहरूबीच आजको तीन दिनभित्र क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ । नेपाली कांग्रेसका शीर्ष नेताहरू सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच २०७८, साउन २० गते हिजो बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टी देखिएको विवाद तीन दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको हो । उनीहरुको सहयोगका लागि डा.प्रकाशरण महत, डा.मिनेन्द्र रिजाल र रमेश लेखक पनि हिजो बैठकमा उपस्थित भएका थिए ।

यसबीचमा दसैं, तिहार, छठजस्ता पर्वै–पर्व पर्छन् । भदौमा आरम्भ भएको महाधिवेशन प्रक्रिया मंसिरसम्म मात्र सम्पन्न हुने सम्भावनाको अनुमान गर्न थलिएको छ । नेपाली काँग्रेसको महाधिवेशनको तिथिमिति निर्धाण भएको भएपनि हुने, नहुने अन्योलमै छ ।

नेपाली काँग्रेसमा नयाँ थप र समायोजन गरेर ८ लाख ५२ हजारभन्दा बढी क्रियाशील सदस्य पुगेका छन्, जसमा नयाँ चार लाख ४३ हजार ६७८ र नवीकरण गरिएका ४ लाख ९ हजार ३३ जना छन् । काँग्रेसको आगामी महाधिवेशनका लागि १७६ जना तेस्रो लिंगीले पनि क्रियाशील सदस्यता पाएका छन् । क्रियाशील सदस्यमध्ये ६ लाख ५३ हजार ४३८ जना पुरुष र एक लाख ९९ हजार ९७ जना महिला छन् । उमेर समूह अनुसार, सबैभन्दा बढी ४१ देखि ६० वर्षका छन् । प्रतिवेदनका अनुसार यो उमेर समूहका ३७.३० प्रतिशत अर्थात् तीन लाख २८ हजार २३४ जनाले क्रियाशील सदस्यता पाएका छन् । यस्तै, १६ देखि २५ वर्षसम्मका ४.५९ प्रतिशत अर्थात् ४० हजार ४२७ जना र २६ देखि ४० वर्षसम्मका २८.३७ प्रतिशत अर्थात् दुई लाख ४९ हजार ७७४ जना सदस्य बनेका छन् ।

सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा अन्य पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने ? भन्ने सम्बन्धमा केन्द्रित भएर छलफल बैठक शुरू गरिएको क्रियाशील सदस्यता छानबिन समितिका संयोजकसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखकले विभिन्न सञ्चार माध्यमलाई जानकारी दिएका छन् । अरू पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरूको सम्बन्धमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता कसरी दिने भन्ने विषयमा केन्द्रित भएर छलफल सुरू गरिएको छ– सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको संक्षिप्त जवाफ दिने क्रममा उनले भने– यसले निरन्तरता पाउँछ र २/३ दिनभित्र टुंगिन्छ ।

बैठकमा नेताहरूबीच आसन्न पार्टीको १४औं महाधिवेशनको कार्यतालिका पनि दुई दिनभित्र टुंगो लगाउने विषयमा छलफल गरिएको छ । नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशन भदौ १६–१९ गते काठमाडौंमा गर्ने तय गरिएको छ । तर स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको मिति पनि सर्ने हो कि भन्ने आशंका गरिएको छ ।

प्रकाशित मिति: २०२१-०८-०५ , समय : ११:३३:३४ , ३ वर्ष अगाडि