५ महिना मै आयाेजना सम्पन्न,किसानको गरा गरामा पुग्यो सिंचाई

Enepal Patra Pvt. Ltd. , ८१८  पटक हेरिएको

हरिप्रसाद कोइराला,

उर्लाबारी, १३ साउन । कुबेत सरकारको सहयोगमा बक्राहा नदी नियन्त्रण एवं सिंचाईको ब्यवस्था भएपछि मोरङको उर्लाबारी –८ र ९ का कृषिमा आश्रित किसान खुसी भएका छन् ।
बक्राहा–खैदुगसरा(खैरेनी,दुर्गापुरी,गगँटे,सखुवानी र रातेहोली ) सिंचाई जल उपभोक्ता संस्था उर्लाबारी–८ लाई सिंचाई ब्यवस्थापनका लागि ४ करोड ७६ लाख रुपियाँ कुवेत सरकारले सहयोग गरेपछि उर्लाबारी ८ र ९ को ११ सय हेक्टर जमीन बाह्रै महिना सिंचित हुने भएको हो । गत पुस १३ गते आयोजनाको शिलान्यास भएको थियो । १५ महिनामा निर्माण सम्पन्न हुने आयोजना पृथ्वी कन्सल्टेन्सी एण्ड इनर्जी गु्रप सर्लाहीले ५ महिनामा सम्पन्न गरी उपभोक्ता लाई हस्तान्तरण गरेको छ । आयोजनाको सङ्घीय सरकारले सिंचाई विभाग मार्फत ३ करोड ४१ लाख रुपियाँमा टेण्डर लगाएको थियो । पूर्व पश्चिम राजमार्ग अन्र्तगत बक्राहा नदीको पूर्व–दक्षिणमा कोशी–बक्राहा नदी नियन्त्रण कार्यालयले तटबन्धको काम समेत सम्पन्न गरेपछि साविकको राजघाटका किसानको वर्षौ देखिको सिंचाई समस्या सधैंका लागि टरेको छ । बाँध नहुँदा हरेक वर्ष पानीके हेडबक्स भन्दा उत्तरबाट बक्राहा खोलो गाउँ पस्ने गरेको थियो । पूलबाट दक्षिण तर्फ ५४६ मिटर बाँध निर्माण कार्य सकिएको छ । सोही बाँधसँग जोडेर उच्च बाँध र सिंचाईका लागि आवश्यक हेडबक्स र इनटेक निर्माण गरिएको हो ।
बक्राहा– खैदुगसरा जलउपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद निरौलाले भन्नुभयो– सिंचाईको समस्या स्थायी रुपमा समाधान भएको छ । हेडबक्स र इन्टेक बचाउनका लागि बक्राहामा उच्च बाँध बन्यो । ठूलोे बाढी आउँदा इनटेक बन्द गरिन्छ । त्यसैले गाउँमा बाढी पस्ने सम्भावना पनि अन्त्य भएको छ । यो बाँध १५ फिट उचाई र २० फिट चौडाईको छ । बाँधसँगै जोडेर हेडबक्स निर्माण गरिएको छ । ढुङ्गा र तारजाली लगाएर बनाइएको हेडबक्सबाट इनटेकमा पानी पुगेपछि बालुवा फिल्टर भएर किसानको जमीनमा पानी पुग्ने निरौलाको भनाई छ ।
जल उपभोक्ता संस्थाका सह–सचिव एवं खैरेनी सिसौली बक्राहा नदी नियन्त्रण उपभोक्ता संस्थाका सचिव विजय गौतमका अनुसार २ करोड रुपियाँको लागतमा कोशी बक्राहा नदी नियन्त्रण आयोजनाले बाँध निर्माण गरेको हो । गौतमले भन्नुभयो–बाँध निर्माण भएपछि पूर्व तर्फ खोलाले कटान गरेको ५० बिगाहा जमीन किसानले उपभोग गर्न पाएका छन् । उच्च बाँध निर्माण भएसँगै बर्सेनि बाढी आउन थालेपछि बक्राहाको त्रासमा बाँच्ने खोला किनारका बासिन्दा खुसी भएका छन् ।
पृथ्वी कन्सल्टेन्सी एण्ड इनर्जी गु्रप सर्लाहीले सरकारसँग आयोजना सम्पन्न गर्न १५ महिने सम्झौता गरेको थियो । तर,निर्माण कम्पनीले बङ्गलादेशबाट कामदार ल्याएर आयोजना ५ महिनामा नै सम्पन्न गरेको अध्यक्ष विष्णुप्रसाद निरौलाले बताउनु भयो । निरौलाले थप्नुभयो–५० जना कामदारले चौविसै घण्टा काम गरेर काम सम्पन्न गरे । राति पनि विजुली बालेर समेत काम गरेको निरौलाको भनाई छ ।

प्रकाशित मिति: २०२१-०७-२८ , समय : १३:५०:४० , ३ वर्ष अगाडि