महाधिवेशन सर्ने निश्चित

Enepal Patra Pvt. Ltd. , २९५  पटक हेरिएको

काठमाडौं ,१३ साउन। नेपाली कांग्रेसमा ४ लाखभन्दा बढी क्रियाशील सदस्य थपिएका छन् । कांग्रेसमा ४ लाख ४३ हजार ६ सय ७८ पुराना क्रियाशील सदस्य थिए । त्यसमा शतप्रतिशत संख्या थपेर आठ लाख ५२ हजार ७११ पु-याइएको हो । नयाँ थपिएका मध्ये ४१ देखि ६० वर्षका ३७ प्रतिशत र ४० वर्ष मुनिका ३३ प्रतिशत रहेका छन् । १४औँ महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा चार लाख नौ हजार ३३ जना नयाँ क्रियाशिल सदस्य थपिएका छन् ।

काँग्रेसको क्रियाशील छानबिन समितिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई २०७८, साउन १२ गते मंगलबार प्रतिवेदन बुझाएको हो । कार्यकाल गत असार २० गते नै सकिए पनि अनौपचारिक रुपमा थपिएको मसान्तसम्मको समय सकिएपछि मंगलबार छानविन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन बुझाएका हुन् । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले असार २० भित्रै सदस्यताको काम सकेर असार ३० भित्र सभापतिलाई सदस्यताको सूची बुझाई सक्नुपर्ने थियो । सभापतिले बुझेर हस्ताक्षर गरेपछि मात्रै सदस्यताको विवरण जिल्ला हुँदै वडातहसम्म पुर्याउनुपर्ने हुन्छ ।

नेपाली काँग्रेसको साउन १२ गते हुने भनिएको तीन दिनअघि स्थगित वडा, पालिका र नगर अधिवेशनको अर्को तालिका सार्वजनिक भएको छैन । केन्द्रीय महाधिवेशनलगायत सबै अधिवेशनहरु सर्ने निश्चित जस्तै छ । अब वडा तहको अधिवेशन सार्दा साउन २८ वा २९ मा गर्नेगरी सार्ने तयारी गरिएको बुझिएको छ । यसैगरी, पार्टीको १४औं केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ सम्म तय भएकोमा त्यो मितिसमेत भदौ अन्तिमका लागि सार्ने तयारी भइरहेको छ । तर दुई वर्षपछि मात्र नेपाली काँग्रेसको महधिवेशन गर्ने सहमति भएको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: २०२१-०७-२८ , समय : ११:५४:११ , ३ वर्ष अगाडि