७ वर्ष देखि पैनी अलपत्र , किसान निरास

Enepal Patra Pvt. Ltd. , ६१३  पटक हेरिएको

हरि कोइराला,
कानेपोखरी(मोरङ), १ साउन । ठेकदारलाई सरकारी निकायले दबाब नदिँदा मोरङको कानेपोखरी– ३ र रङ्गेली–९ को सिमानामा ७ वर्ष अघि निर्माण सुरु भएको पचपैनी अझै बनिसकेको छैन ।
तत्कालिन नेपाल सरकारले साविकको दर्वेशा र रङ्गेली गाविसका किसानको खेत खेतमा पानी पुर्‍याउँने महत्वकांक्षी आयोजनाका रुपमा उक्त पचपैनीलाई ब्यवस्थित गर्न सुरु गरेको थियो । तत्कालिन पूर्वाञ्चल सिंचाई डिभिजन कार्यालय २ नं. सुनसरीले टेण्डर लगाएको पैनी याक्थुम एण्ड विपी कन्ट्रक्सन जेभी लाहानले निर्माण गर्ने जिम्मा पाएको थियो । पैनी निर्माणका लागि ६ करोडको लागत इष्टिमेट भएपनि कन्ट्रक्सनले झण्डै ३५ प्रतिशत कम रकममा निर्माण गर्ने गरी कामको जिम्मा लिएको थियो । ३ करोडं ७७ लाख ५४ हजार ८ सय ९७ रुपियाँमा ठेक्का लिएको कम्पनीले उक्त काम २०७१ मङ्सिर २३ मा सुरु गरेर २०७२ माघ २२ गते निर्माण सम्पन्न गरी उपभोक्ता समितिलाई जिम्मा लगाउने सम्झौता भएको थियो ।
तर कन्ट्रक्सनले विभिन्न बहाना देखाउँदै काम नगर्ने गरेको स्थानीयहरूको भनाई छ । स्थानीय पन्चु चौधरीले भन्नुभयो–रड ल्याएर छोडेको छ , त्यसपछि आएको छैन् । चाँडो पैनी बनिदिए बाढीको समयमा आफू सुरक्षित भएर बस्न पाउने उहाँको भनाई छ । उपभोक्ता समितिका अध्यक्ष सोमप्रसाद घिमिरेले भन्नुभयो–हामी वर्षौं देखि धाइरहेका छौं । राज्यपुनर्संचना भएपछि सरकारी कार्यालयहरूको कार्य क्षेत्र छिन्न भिन्न भयो । हामीले पैनी बनाएर खेतमा पानी लानु पर्ने हो । तर, कहिले सिंचाई डिभिजन ,कहिले जल उत्पन्न धाउँदा धाउँदै हामी थाकिसक्यौं ।
बारम्बार दबाद दिएपछि जल उत्पन्न प्रकोप नियन्त्रण तथा सिचाई विकास डिभिजन कार्यालय बिराटनगरले निर्माण कम्पनीलाई पहिलो पटक २०७३ साउन २१ देखि २०७४ असार १५ सम्मका लागि काम गर्न म्याद थप्यो । तर, एक साता जति काम गरे जस्तो गरी फेरि निर्माण कम्पनी सम्पर्क बिहीन बन्यो । सो अबधिमा समेत काम सम्पन्न नगरेपछि पुनः कम्पनीलाई २०७५ असार २५ देखि २०७६ असार २५ सम्म काम सम्पन्न गर्न म्याद थप भयो । बारम्बार समय थप थप्दै ७ वर्ष बितिसकेको छ । तर, किसानको खेतका पानी पुगेको छैन ।
नेपाल सरकारले काम गर्ने जिम्मा लिएर काम नसक्ने निर्माण कम्पनीलाई कारवाही नगर्दा ठेकदारहरूले मनपरि गरेको स्थानीयको बुझाई छ । काम अलपत्र छोडेपनि १ करोड ६८लाख २३ हजार ६ सय ७५ रुपियाँ निर्माण कम्पनीले लगिसकेको छ । उता निर्माण कम्पनी बीपी जेभिका प्रमुख बैजनाथ साहले ५० प्रतिशत काम सम्पन्न गरि सकेको दाबी गर्नुभयो । त्यहाँ काम गर्ने वातावरण छैन । उहाँले काम गर्ने कस्तो वतावरण नभएको हो, बताउनु चाहनु भएन ।
तर पैनी निर्माण नहुँदा किसान चरम निरास छन् । आकाशे पानीको भरमा खेतीगर्ने किसानका लागि भरपर्दो सिंचाई स्रोत थियो , पचपैनी । स्थानीय मङ्गल दाहालले भन्नुभयो –७ वर्ष भयो,पैनी बन्छ र आनन्दले खेतीपाती गरौंला भनेको तर आस गर्दा गर्दै निरास बनायो । साविकको बयरवन २ रातेहोलीको पानी लैजाने पैनीमा बाँध कसेर ओभरफ्लो हुने पानी गेउरिया खोलामा खसाउने र पानी कम भएको बेला किसानको खेतमा पुर्‍याउने पचपैनी निर्माण नहुँदा १५ घर परिवार बाढीको जोखिमा रहेका छन् ।
यता सिंचाई डिभिजन कार्यालय मोरङका फिल्ड इन्जिनीयर धिरज पोख्रेलले पुरानो आयोजना भएको र आफू पनि नयाँ भएकोले अध्ययन गरेर मात्र जानकारी दिन सक्ने बताउनु भयो ।

प्रकाशित मिति: २०२१-०७-१६ , समय : १८:४५:२१ , ३ वर्ष अगाडि