दु:ख र पीडा जति गरीब कै घरमा मात्र !

Enepal Patra Pvt. Ltd. , १३९६  पटक हेरिएको

हरि काेइराला
पथरीशनिश्चरे(मोरङ), १ साउन। दुखीकाे घरमा मात्र तेराे बास हुने भए हे!ईश्वर दयाराखी अझ मलाई दु:ख दे । बालकृष्ण समकाे मुकुन्द ईन्दिरा नाटककाे याे अंश मोरङको पथरीशनिश्चरे ३,सङ्गम चौकका मिर्गौला पीडित २९ वर्षीय सुजन दर्जीकाे जीवनसँग ठ्याक्कै मेल खाएको छ ।
काटे रगत ,निचेराे लादी घरकाे सबै सिरिखुरि बटुल्दा जम्मा भएको २०/२२ हजार रुपैयाँ सकिसक्याे । त्याे बाहेक अस्पतालमा लागेको थप १८ हजार रुपैयाँ तिर्न नसकेपछि यतिबेला उहाँ घरमै मृत्युसँगै जुधिरहनु भएको छ ।
६९ वर्षीया हजुरआमा र श्रीमतीसँग बस्दै आउनु भएका सुजन बसेकाे घर पनि । दाताले बनाइ दिएको हाे । सम्पतिका नाममा १५ धुर जग्गा बाहेक उहाँसँग केही छैन् । त्यही जग्गामा पथरीशनिश्चरेबाट तेस्रो देश पुनर्वास गएका भूटानी शरणार्थीहरूले घर बनाइदिएका हुन् । सुजनका बुबालाई मिर्गौला रोगले नै लग्यो । आमा ब्रेनट्युमरको उपचार गर्न नसकेर बित्नुभयो । सुजनले हजुरबालाई देख्नै भ्याउनु भएन । एकपछि अर्को पारिवारीक पीडाले यतिबेला सुजन दर्जीको परिवार इन्तु न चिन्तु भएको छ । श्रीमानको उपचारका लागि अस्पताल बस्दा बस्दै सुजनकी पत्नी पूजा पनि विरामी पर्नुुभयो । पूजाको अहिले पथरीमा उपचार भइरहेको छ ।
सुजनकाे घरमा एकपछि अर्को विपत्ति आउँदा स्थानीय छिमेकीहरू समेत चिन्तित छन् ।छिमेकी रेणुका काफ्लेले भन्नुभयो – सबैले सहयोग गरेर सुजनलाई बचाउनु पर्याे ।सुजनकी आमा मधुमेह ,उच्च रक्तचाप र दमले सिकिस्त हुनुहुन्छ । घरमा सामान्य काम बाहेक केही गर्न हात पाखुरा लाग्दैनन्,सुजनकी आमाका ।
स्थानीय सरकारले अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा नगरिदिँदा त्यस्ता परिवार स्वास्थ्य सेवा बञ्चित भएको स्थानीय टिएन खतिवडाले बताउनु भयो ।
सुजन गाउँघरमा कृषि मजदुरी र निर्माण क्षेत्रमा काम गर्ने श्रमीक हुन् । उहाँले भन्नुभयो – डाक्टरले मिर्गौला प्रत्याराेपण अन्तिम बिकल्प हाे भनेका छन् । मिर्गौला दिने दाता फेला परिसकेका छन् ।तर,प्रत्याराेपण खर्च छैन् ।त्यसैले सहयोगकाे याचना गरेको हुँ ।

प्रकाशित मिति: २०२१-०७-१६ , समय : ०८:५०:१७ , ३ वर्ष अगाडि