वडा र गाउँ/नगर तहमा सर्वसम्मत नेतृत्व चयनमा जोड

Enepal Patra Pvt. Ltd. , ९२१  पटक हेरिएको

विराटनगर , २३ असार । देशमा कुनै ठुलो राजनीतिक परिवर्तन भएन भने नेपाली कांग्रेसको १४ ओैं महाधिवेशन रोकिने वा सर्ने सम्भावना छैन । महाधिवेशनको मिति जति नजिकिँदै छ,उति नै कांग्रेस कार्यकर्ताको सक्रियता बढेको छ ।
पार्टीको केन्द्रीय नीति ,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तरगत गठन भएका विभिन्न विषयगत समितिका विज्ञ सदस्यहरूले समेत पार्टीमा सहमति र सहकार्य स्थापनामा जोड दिएका छन् । प्रतिष्ठानका प्रदेश नं .१ संयोजक एवं महासमिति सदस्य केशव निरौलाको अगुवाईमा गत बिहीबार मोरङको कानेपोखरीमा बसेको छलफलले मोरङको क्षेत्र नं. ३ मा वडा र गाउँ तहको नेतृत्व सर्वसम्मत रुपमा चयन गर्नुपर्नेमा जोड दिएको छ । पार्टीको आन्तरिक राजनीति मिलाएर लान सके आगामी स्थानीय, प्रदेश र सङ्घीय संसदको निर्वाचनमा सहज जीत हासिल गर्न सकिने प्रतिष्ठानका प्रदेश १ संयोजक केशव निरौलाले बताउनु भयो । उहाँले पार्टीका केन्द्रीय उप सभापति प्रमुख रहने प्रशिक्षण प्रतिष्ठान २ वर्ष अघि मात्र स्थापना भएको बताउनु भयो । पार्टीको नीति निर्माणमा केन्द्रीय नीति ,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तरगत गठन भएका विषयगत समितिका सदस्यहरूले महत्वपूर्ण सुझाव दिइरहनु भएको निरौलाको भनाई छ ।निरौलाले भन्नुभयो –महाधिवेशनको मिति नजिकिदै गर्दा विज्ञ सदस्य नियुक्ति भएको विषयलाई केही साथीहरूले अतिरञ्जित गरेको बताउँदै उहाँले भन्नुभयो–पार्टीमा योगदान दिन सक्ने साथीहरूका लागि यो एउटा अवसर हो । प्लेटफर्म हो । बिषयगत समितिका संयोजकहरू केन्द्रीय समितिको निर्णय अनुसार नियुक्त हुनु भएको छ । कुनै समूहले चलाएको यो क्लब होइन,त्यसैले सस्थापन पक्षको ट्याक लगाउनु राम्रो होइन ।
वडा तह र गाउँ नगर तहको अधिवेशन सर्बसम्मत रुपमा गर्न सके तल्लो तहमा गुटगत राजनीति अन्त्य हुने सहभागि विज्ञ सदस्यहरूले बताउनु भयो । श्रम तथा रोजगार विषयगत समितिका सदस्य डिगबहादुर अधिकारीले गाउँमा सौहाद्र्ध वातावरणमा बसेका कार्यकर्तालाई जिल्ला र केन्द्रका नेताहरूले यो पद वा त्यो पदको आंकाक्षी बनाउने भन्दा समन्वय गराई सर्बसम्मत नेतृत्व चयन गराउन सहयोग गर्नुपर्ने बताउनु भयो । बैठकमा मोरङ क्षेत्र नं. ३ बाट विषयगत समितिमा सदस्य नियुक्त भएका सन्तोष सेरेङ लिम्बू (नेतृत्व विकास विषयगत समिति)गोपाल कुमार कार्की (आन्तरिक पार्टी समन्वय समिति)सुनील पराजुली (श्रम तथा रोजगार) हिमांशु राय (भाषा , साहित्य कला र संस्कृति )ज्ञानराज राई (आन्तरिक पार्टी समन्वय समिति ) ऐश्वर्यप्रसाद आचार्य ( आन्तरिक पार्टी समन्वय समिति ) र हरि कोइराला (सूचना प्रविधि विषयगत समिति) र नेपाल प्रेस युनियन मोरङका सह सचिवको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२१-०७-०८ , समय : ०९:००:२९ , ३ वर्ष अगाडि