पथरी–जाँते–ज्यामिरे सडक निर्माण कछुवाको चालमा

Enepal Patra Pvt. Ltd. , ११०९  पटक हेरिएको

हरि कोइराला,
लेटाङ(मोरङ), २४ असार । मोरङको पथरी–जाँते– हुँदै लेटाङ ८ को ज्यामिरे जोड्ने सडक कालोपत्रे नहुँदा वर्षायाममा जाँतेका बासिन्दा सास्ती खेप्नु परेको छ । १ नं.प्रदेश सरकारले आफ्नो गौरवको योजनाका रुपमा निर्माण प्रक्रिया अघि बढाएको यो सडक प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले २०७६ मङ्सिर २३ गते शिलान्यास गर्नु भएको थियो । ३ वर्षमा सडक निर्माण सम्पन्न गरी ज्यामिरेबाट जाँते हुँदै पथरीमा पूर्व पश्चिम राजमार्गसँग जोडेर डाइनियाँ हुँदै भारतसँग ब्यापार गर्ने योजना थियो । सडक निर्माण सुरु भएको १९ महिना अर्थात आधा भन्दा बढी समय ब्यथित भईसक्दा १० प्रतिशत काम पनि भएको छैन् ।
प्रदेश सरकारले २०७६ सालमा प्रदेश १ भरी ६२ वटा सडकलाई बहुवर्र्षीय योजना अन्र्तगत गौरवको योजनाका रुपमा समावेस गरेको थियो । सोही आयोजना अन्तरगत पथरी–जाँते–ज्यामिरे सडक खण्ड पनि समावेश भएको थियो । १९ महिनाको प्रगति भनेको ठाउँ ठाउँमा खाल्डा पुर्ने र जाँते बजार क्षेत्रमा नाला निर्माणको काम भन्दा अरु कामले गतिलिन सकेको छैन । उक्त सडक जाँतेबासीहरू वर्षायाममा धेरै र हिउँदमा कम प्रयोग गर्ने गर्छन् । वर्षायाममा लेटाङ र जाँतबासीलाई आउ जाउ गर्न दुईवटा खोलाले ेअबरोध गर्छन् । त्यसैले वर्षायाममा जाँतेवासीले जाँते–पथरी सडक प्रयोग गर्नुको अर्को विकल्प छैन् । स्थानीय ब्यापारी कुवेर पौडेलले भन्नुभयो– २ हजार भन्दा बढि घरधुरीका २० हजार भन्दा बढि जनसख्याले वर्षायाम सास्ती खेप्दै आउनु परेको छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय मार्फत ०७८ असोज भित्र सम्पन्न गर्ने गरी १९ दशमलव ६ किलोमिटर लम्बाइ र २२ फिट चौडाईको ५० एमएमको अस्पल प्रविधिबाट कालोपत्रे गरिने उक्त सडक ७२ करोड ५० लाख रुपियाँमा टेण्डर आह्वान भएको थियो । श्रेष्ठ कन्ट्रक्सन कम्पनी काठमाडौंले २५ प्रतिशत कम बोलकबोल गरी भ्याटसहित ५४ करोड ४८ लाख ४५ हजार १ सय २५ रुपैयाँ ९६ पैसामा ठेक्का पाएको थियो ।तर, श्रेष्ठ कन्ट्रक्सनले पनि सडक अर्कै ठेकदारलाई जिम्मा लगाएको स्थानीयको भनाई छ ।
सडक निर्माणका लागि सरकारले हाल सम्म बिनियोजन गरेको बजेटको २ किस्तामा गरेर आधा रकम पनि उपलब्ध गराउन सकेको छैन । २०७८ असोज भित्र निर्माण सक्ने लक्ष्य लिएको सरकारले अघिल्लो आर्थिक वर्षमा ५ करोड र आर्थिक वर्ष ७८÷७९ मा १४ करोड रुपियाँ विनियोजन गरेको छ ।
जुन रकम कुल लागत वजेटको आधाहिस्सा भन्दा कम हुन आउँछ जसका कारण योजना निर्माण समयसीमा भित्र सम्पन्न हुने कुरामा सोही क्षेत्रबाट निर्वाचित प्रदेश सभाका सांसद उपेन्द्रप्रसाद घिमिरे पनि बिश्वस्त हुनुहुन्न ।उहाँले भन्नुभयो–बजेटको प्रर्याप्तता छैन् । पैसा ने नभएपछि कसरी बन्छ सडक । उहाँले बारम्बार संसदमा पनि आफूले कुरा उठाएको बताउनु भो । प्रदेश सरकारले पथरी देखि जाँते सम्मको ११ किलोमिटर वन क्षेत्रको सडकलाई ७ मिटर चौडाईको जाँते देखि फेदी सम्म ११ मिटर चौडाईको र पहाडी भेगको ७ किलोेमिटर क्षेत्रमा ५ दशमलव ५ मिटर चौडाईको कालोपत्रे सडक निर्माण गर्ने लक्ष्य लिएको थियो ।
सडक समयमै निर्माण हुने हो भने भारतकोे सिक्टीबाट पथरी, जाँते हुँदै प्रदेश १ का प्रमुख पर्यटकीय क्षेत्र सम्म पुग्न सहज हुने लेटाङ ८ का वडाध्यक्ष भीमप्रसाद पोख्रेल बताउनु हुन्छ । पर्यटकीय सम्भावना भएका ऐतिहासिक महत्वका ठाउँ सम्म पुग्ने सडक सञ्जाल बिस्तार भए उत्तरी मोरङका फलफूल , चिया, अलैची, अम्रिसो ,तेजपात बिक्री गर्न किसानलाई सहज हुने थियो ।

 

प्रकाशित मिति: २०२१-०७-०८ , समय : ०७:४७:२२ , ३ वर्ष अगाडि