प्रकाशको सभापतिमा दाबी , सर्बसम्मतको सम्भावना

Enepal Patra Pvt. Ltd. , ७५४  पटक हेरिएको

उर्लाबारी,१८ असार । नेपाली कांग्रेसको १४ औं महाधिवेशन जति –जति नजिकिदैछ, उति नै नेतृत्वमा पुग्ने होडबाजी सुरु भएको छ । १४ औं महाधिवेशन आगामी साउन १२ गते वडाको अबिधेशनबाट सुरु हुने तालिका सार्वजनिक भइसकेको छ ।
कांग्रेस बहु पदीय नेतृत्वमा गएपनि सभापति सबैभन्दा शक्तिशाली रहने ब्यवस्थाले वडा देखि केन्द्र सम्म सभापति कै चर्चा हुने गरेको छ । मोरङको उर्लावारी–९ का ३३ वर्षीय किशोर प्रकाश कन्दङ्वा वडा नं. ९ को सभापतिमा उम्मेद्वार बन्ने हुनु भएको छ । २०६५ सालमा नेपाल तरुण दलको कार्यकर्ता बनेर राजनीतिक यात्रा प्रारम्भ गर्नु भएका कन्दङ्वा २०७२ सालमा भएको १३ औं महाधिवेशनमा साविक राजघाट वडा नं ८ को वडा सभापतिमा निर्वाचित हुनु भयो । उहाँ राज्यपुनर्संचना पछि राजघाटका ४ वडा वडा मिलेर बनेको उर्लाबारी–९ को वडा सभापति बन्नुभयो । १३ औं महाधिवेशनमा सभापतिको जिम्मेवारी लिँदा प्रकाश २८ वर्षको हुनुहुन्थ्यो । कांग्रेसमा २८ वर्षीय प्रकाशलाई वडाको नेतृत्व दिँदा धेरैले नाक खुम्च्याए । केहीले पत्याएनन । तर,पाकाको आशीर्वाद र युवाको साथ लिएर प्रकाशले कांग्रेसको अनवरत संगठन गर्नुभयो । गाउँमा भएको मरिमराउमा होस या ,दैवी विपत्ति प्रकाशको उपस्थिति अनिवार्य जस्तै भयो । आफूले सकेको सहयोग गर्न उहाँ कहिल्यै पछि पर्नु भएन ।
कुनै समय राजघाट कम्युनिष्टको किल्ला थियो । कांग्रेस भएर बाँच्नै कठिन । त्यो भूमिमा प्रकाश जस्तै युवा, जवानले धेरै मलजल गरे । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा कांग्रेसका उमेद्वार समीर लिम्बूले ७४९ मत ल्याउँदा निर्वाचित वडाध्यक्ष बम फ्याकले ७९२ मत पाउनु भयो । ४३ मतान्तरले कांग्रेस पराजित हुँदा प्रकाशलाई आफै हारे जस्तो अनुभुत भयो । उहाँले भन्नुभयो– १४ औं महाधिवेशनमा पुन वडाको सभापति बनेर कांग्रेसका चारतारे झण्डा वाहक उम्मेद्वारलाई जिताउने अर्जुन दृष्टि लिएर उम्मेद्वारी घोषणा गरेको हुँ ।
कांग्रेसी परिवार मै जन्मिएर राजनीतिमा लाग्नु भएका कन्दङ्वा े न बैदेशिक रोजगारमा आकर्षित हुनभयो । न कुनै ब्यापार ब्यावसायमा । कृषि कर्मबाट आर्थिक समृद्धिको सपना देख्नु भएका कन्दङ्वा भन्नुहुन्छ–अधिकांश समय गाउँघर मै साथीभाइ सँग हुन्छु । खेतीपाती र सामाजिक काम मै ब्यस्त हुने प्रकाश उपल्लो तहका नेतासँग काम पर्दा मात्र सम्पर्क गर्नुहुन्छ । कसैको फेरो समाएर राजनीति गर्नु छैन् । उहाँले आफ्नै बलले सभापतिमा उम्मेद्वार बन्न लागेको दाबी गर्नुभयो । पार्टीमा गणेश प्रवृति हाबी भएको भन्दै उहाँले चिन्ता प्रकट गर्नुभयो । शहर बसेर गाउँको राजनीति हुन्न ,उहाँको भनाई छ ।
सादा जीवनमा रमाउने प्रकाश जातले लिम्बू भएपनि पान मदिरासँग टाढा रहनु हुन्छ । सानै उमेरमा असल बाटो समाएको भन्दै बुढापाकाले उहाँको प्रशंसा गर्ने गर्छन् । भने युवाहरूले पनि भरपुर साथ दिने गरेका छन् । प्रकाशले भन्नुभयो– ९ नम्बर वडामा संगठन भद्रगोल भएको बेला नेतृत्व लिएँ । संगठन बन्दै गएपछि अग्रजहरूले मलाई ब्याक हो भन्नुहुन्छ भन्ने मलाई लाग्दैन । माछा हुँदा दूलो भित्र हात , सर्प हुँदा दूलो बाहिर हात गर्नेहरू पनि नेतृत्व लिन कसिएका छन् । तर,उनीहरूले किन नेतृत्व लिने स्पष्ट पार्न सक्नु भएको छैन ।

प्रकाशित मिति: २०२१-०७-०२ , समय : २३:३३:३७ , ३ वर्ष अगाडि