चेतन उर्लाबारी ३ को वडा सभापतिमा भीड्ने

Enepal Patra Pvt. Ltd. , ९६१  पटक हेरिएको

उर्लाबारी,१८ असार । उर्लाबारी ३ का चेतन कोइराला नेपाली कांग्रेस उर्लाबारी–३ को वडा सभापतिमा उम्मेद्वार बन्ने पक्का भएको छ । अधिकांश बुढापाका र युवाहरूले कोइरालालाई सके सर्वसम्मत नसके निर्वाचनबाट निर्वाचित गराउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
                                                                      को हुन चेतन कोइराला ?
नेपाल विद्यार्थी सङ्घबाट राजनीति यात्रा आरम्भ गर्नु भएका उर्लाबारी ३ का चेतन कोइराला उर्लाबारीको कांग्रेसजनमा लोकप्रिय नाम हो । २०५४ सालमा धनकुटा बहुमुखी क्याम्पस अध्ययन गर्दैगर्दा कोइराला नेविसङ्घबाट स्ववियुको उम्मेद्वार बन्नुभयो ।
उसै पनि धनकुटा कम्युनिष्ट राजनीतिको राजधानी मानिथ्यो उसबेला । अझै पनि धनकुटामा कांग्रेस र नेविसङ्घले आफूलाई खरो रुपमा उभ्याउन सकेका छैनन् । धनकुटामा नेविसङ्घको राजनीतिबाट खारिएर आएका कोइराला त्यसपछि लगातार प्रजातान्त्रिक समाजवादको पक्षमा लागेर कांग्रेसको संगठनमा लागि रहनु भएको छ । २०६२÷०६३ को आन्दोलनमा पनि कोइराला काठमाडौं केन्द्रीत आन्दोलनमा सक्रिय सहभागि हुनुभयो । आन्दोलनको अग्रभागमा चारतारे झण्डाको कफन बाँधेर निस्किने गर्नु भएका कोइराला आन्दोलनका क्रममा पक्राउ पर्नुभयो । दुई दिन हिरासतमा पर्नु भएका कोइराला कुनै पनि आन्दोलनमा भएको सहभागिता लाभका लागि नभएको बताउनु हुन्छ । २०४७ पछि कांग्रेसमा ८० वर्षका बुढापाका लाई पनि युवा नेता भन्ने परम्पराले उहाँलाई पनि केही गलाएको छ । उमेरले ४० नाघिसक्नु भएका चेतनले यतिबेला उर्लाबारी कांग्रेस हाक्ने क्षमता बनाइसक्नु भएको छ । तर, पाका नेताहरूले पद नछोड्ने परम्पराले कहिल्यै अवसर पाउनु भएन । कांग्रेस र भातृ संगठनको आन्दोलन र चुनावी अभियानमा अग्रमोर्चामा देखिनु हुन्छ,उहाँ । पार्टीले कार्यकर्ताको मूल्याङ्कन नगरेको उहाँको बुझाई छ । उहाँले भन्नुभयो–एउटा परिवार वरिपरि कांग्रेस घुमेर सदृढ र सशक्त कांग्रेस बन्न सक्दैन । कोइराला थप्नुहुन्छ– बाबु पछि छोरा । छोरा पछि नातिमा नेतृत्व हस्तान्तरण गर्दै जाने हो भने कसरी सबै अट्ने र सबैलाई जोड्ने कांग्रेस भयो ? म भएँ भने पार्टी चल्छ,अर्को ब्यक्ति आयो भने कांग्रेस सकिन्छ भन्ने सोचबाट सबै बिरामी छन् ।
आवश्यक पर्दा मात्र कार्यकर्ता खोज्ने थिति पनि कांग्रेस संकटमा परिरहेको कोइरालाको बुझाई छ । नेपाली कांग्रेस उर्लाबारी ३ नं वडालाई निशुल्क कार्यलय समेत उपलब्ध गराउँदै आउनु भएका कोइराला पार्टी सञ्चालनका लागि सधैं चन्दा उठाउँने, दाँत देखाउँदै पैसा माग्दै हिड्ने भन्दा दिगो आर्थिक स्रोत निर्माण गर्ने पक्षमा हुनुहुन्छ । हरेक वर्ष तिहारमा देउसी खेल्ने र आर्थिक स्रोतको जोहो गर्ने कोइरालाको कार्यक्रम नै रहेको छ । विगतमा पनि देउसीबाट आर्थिक सङ्कलन भएको थियो । त्यही रकमबाट आज कांगे्रसजनको निधन हुँदा समबेदना लिएर जान सक्ने भएको छ, वडा नं. ३ कांग्रेस ।
कोइराला समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उर्लाबारी ३ को प्रगति टोलमा निर्माण भएको सडक कोइराला कै अध्यक्षतामा बनेको हो । नगर कै नमूना मार्गका रुपमा रहेको ४ सय मिटर लम्वाईको यो सडक निर्माण पछि कोइरालाको सामाजिक उचाई पनि बढेको गैर कांग्रेसहरू पनि स्वीर्काछन् ।
कोइराला चारतारे झण्डामा गोलबन्द भएको दुई दशक नाघ्यो । तर, आजका मिति सम्म कुनै राजनीतिक पदमा बसेर काम गर्ने अवसर पाउनु भएको छैन् । सधैं झण्डा र मसाल बोक्ने अनि तालि बजाएर हिड्दा हिड्दै उहाँ थाकिसक्नु भएको छ । कोइराला भन्नुहुन्छ–यस पटक सबै साथीहरूको मन जितेको छु । त्यसैले सभापति पदमा उम्मेद्वार बन्न लागेको हुँ । कोइराला भएकै कारण सभापतिको उम्मेद्वार बन्न लाग्नु भएको हो भन्ने जिज्ञाषामा उहाँले भन्नुभयो – कोइराला भए पनि म कुनै लाइन, गुट वा समूहमा छैन् । कांग्रेसका नेताहरूले सूचना दिएको ठाउँमा पुगेको छु । म कांग्रेस मात्र हुँ । केही मानिसहरू कसैको दौराकोको फेर समाएर राजनीतिमा सफल भएका छन् । तर, म त्यो मान्यता राख्दिन । आस्था कांग्रेसले बनेको हुँ । क्रियाशील साथीहरू, अभिभावकहरू, अग्रजहरूको मान सम्मानमा कुनै कमी हुन दिन्न । निषेधको राजनीति मैले गरेको छैन् र गर्दिन पनि ।

प्रकाशित मिति: २०२१-०७-०२ , समय : १०:३०:११ , ३ वर्ष अगाडि