मोरङ ३ (१) को सभापतिमा गुरुङको दाबी

Enepal Patra Pvt. Ltd. , २५३८  पटक हेरिएको

कानेपोखरी(मोरङ),१७ असार । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिए सँगै नेताहरूको उमेद्वारी घोषणा तीब्र बनेको छ । संघ,प्रदेश, जिल्ला, क्षेत्र , नगर÷गाउँका पदाधिकारी ,महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य , क्षेत्रीय प्रतिनिधि र सदस्य पदमा दैनिक जसो उमेद्वारी घोषणा भइरहेका छन् ।
बिहीबार मोरङ क्षेत्र नं. ३ (क) को सभापति पदमा कानेपोखरी–५ का चन्द्रबहादुर गरुङले उमेद्वारी घोषणा गर्नु भएको छ । गुरुङ नेपाली कांग्रेस कानेपोखरीको उप सभापति हुनुहुन्छ ।तत्कालिन मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)का केरौन सभापति रहनु भएका गुरुङ नेपाली कांग्रेसमा लोकतान्त्रिक फोरम समायोजन भएपछि उप सभापति बन्नुभएको हो । लोकतान्त्रिक युवा फोरममा रहँदा युवा फोरमको जिल्ला उपाध्यक्षको जिम्मेवारी सम्हालि सक्नु भएका ४८ वर्षीय गुरुङ पार्टीमा लोकतान्त्रिक विधि र सुदृढ कांग्रेस निर्माण गर्ने अभियानमा हुनुहुन्छ । पार्टीमा धनवाद र डनवाद फष्टाएको भन्दै गुरुङले भन्नुभयो– गोजीमा पैसा नहुनेले वर्षौं सम्म पार्टीमा योगदान दिए पनि नेतृत्वमा पुग्न सक्ने वातावरण रहेन । म गरिव छु, पैसा छैन् । तर, पार्टीलाई उर्जाशील बनाउने भिजन छ । कांग्रेसमा जहिल्यै हुने खाने कांग्रेसले मात्र अवसर पाए । उहाँले भन्नुभयो – गरिव दुखी पनि अटाउन सक्ने कांग्रेस स्थापना गर्न मैले उमेद्वारी घोषणा गरेको हुँ । गुरुङले आफू नेपाली कांग्रेसको स्थायी कार्यकर्ता भएकोले कुनै गुट वा समूहको सहयोगमा उमेद्वार नबन्ने उल्लेख गर्नुभयो ।
लोकतान्त्रिक फोरम कांग्रेसमा समायोजन भएपछि गुरुङले प्रचार प्रसार समितिको संयोजक भएर काम गर्नुभयो । कांग्रेसका उमेद्वारलाई जिताउन उहाँले धेरै समय पार्टी संगठनलाई दिनुभयो ।
त्यसो त गुरुङ स्थानीय स्तरका सामाजिक संघ संस्थामा पनि उत्तिकै ब्यस्त रहनु हुन्छ । उहाँ जन जागृति सामूदायिक वनको सदस्य हुनुहुन्छ । केरौन खानेपानी उपभोक्ता समूहको उपाध्यक्ष, आदिवासी जनजाति महासङ्घ कानेपोखरी–५ को वडा अध्यक्ष र सिंहदेवी माविको अभिभावक सङ्घको सदस्य समेत रहेर काम गरिरहनु भएका गुरुङ पार्टीको सभापति निर्वाचित भए विधि विधान अनुसार पार्टी सञ्चालन गर्ने दावी गर्नुहुन्छ । म कुनै गुट वा समूहमा छैन् । मेरो गुट नेपाली कांग्रेस हो । समूह पनि नेपाली कांग्रेस हो । महाधिबेशन लागेपछि केही नेताहरू पानी वारावारको अवस्थामा पुगेका छन् ।तर, म सबैलाई जोड्ने अभियानमा छु ।गुरुङ सामाजिक अभियन्ता समेत हुनुहुन्छ । आफ्नो गाउँ टोलमा बाढीले दुख दिँदा होस वा आगलागी जस्ता अन्य विपद्मा । जहाँ पनि उहाँ राहत लिएर पुग्नु हुन्छ । सहयोगी हातहरू जुटाउनु हुन्छ । समाजमा उहाँको योगदान कै कारण अधिकांश युवाहरू गुरुङको नेतृत्व खोजिरहेका छन् । पाकाहरूले गुरुङसँग भरोसाको आश गरिरहेका छन् ।

प्रकाशित मिति: २०२१-०७-०१ , समय : २०:२६:३७ , ३ वर्ष अगाडि