काेराेना कहरले ब्यस्तता बढाएको छ- मेयर राई

Enepal Patra Pvt. Ltd. , १००१  पटक हेरिएको

रतुवामाई (माेरङ), २४ बैशाख ।एउटाले फाेन गरेर कोरोना सङ्क्रमित मान्छे भारतबाट आउँदै छ्न् भन्ने सुचना दिन्छ रे । अर्कोले फोन गरेर हामी गाउँ आउन पाएनौँ ,कसरी आउने हाेला मेयर साव ,हामी तपाईंका नागरिक हाेइनाैं भन्छ। रातभरि यस्तै फोन आइरहन्छन ।दुबैका कुरा सुन्दा हाे जस्तो लाग्छ ,तर परिस्थिति त्यति सजिलाे छैन । रातभर झिपिक्क गर्न पाइँदैन।’ याे भोगाइ – माेरङकाे रतुवामाई नगरपालिकाका मेयर रविन राईको हो ।
काेराेना कहरले आक्रान्त छ,दक्षिण पुर्वकाे रतुवामाइ नगरपालिका पनि ।अझ भारतसँग सिमाना जाेडिएकाेले सजकता बढाउनु पर्ने चुनाैति पनि उत्तिकै छ ।
देशमा कोरोना भाइरस सङ्क्रमण दोस्रो लहर फैलिएपछि स्थानीय तहका जनप्रतिनिधिको व्यस्तता ह्वात्तै बढेको छ। नगरप्रमुख राईले भन्नुभयाे, ‘कहिलेकाहीँ त पानी पिउने फुर्सद पनि हुँदैन।’

भारतबाट नेपाल आउनेहरु रतुवामाई नगरपालिका हुँदै भित्रने गर्छन्। भारतबाट आउनेहरुको व्यवस्थापन गर्न निक्कै कठिन हुने गरेको नगरप्रमुख राईले सुनाउनु भयो ।

एकातिर आफ्नै काेराेना नियन्त्रणका लागि गर्नुपर्ने कामकाे चाङ छ, अर्कोतिर नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम निर्माण गर्ने हताराे छ।दुबै काम प्राथमिकताकाे सुचीमा छन् । त्यसमाथि जिल्लाका अन्य स्थानीय तह र बाहिरी जिल्लाका मानिसलाई गन्तव्यमा पठाउने काम पनि छ।

यी सबै कामले नगरप्रमुख राईको व्यस्तताको पारो चढेको छ। ‘बढी दौडधूपले ज्वरो नै बढेछ, फोन आएको आएकै गर्छ’, उहाँले भन्नुभयाे ‘जिम्मेवारी लिएको मान्छेले जनताको सेवाबाट पछि हट्ने हुने कुरो हुँदैन।’ कामको चाप निक्कै बढी छ।

कुनै पनि बेला व्यापक सङ्क्रमण देखिन सक्ने भएकाले नगरपालिका जनप्रतिनिधिहरु न्यूनीकरणमा जुटेका छन्। ‘विदेशबाट र अन्यत्रबाट आएका मानिस सम्पर्कमा आए काम गर्न सहज हुन्छ’, राईले भन्नुभयाे , ‘भागे भने त ठूलो विपत्ति निम्तिन्छ। कोरोनाबाट बाँच्नु हामी सबैको भलाइ हो।’

कोरोना महामारी महासङ्कट भएकाले कुनै एक जनाको प्रयासले मात्र जुध्न नसक्ने मेयर राईको भनाइ छ। ‘म जनप्रतिनिधि हुँ, मेरो दायित्व केही बढी छ तर यसमा हरेक संस्था, समूह र व्यक्तिकै योगदान आवश्यक छ’, राईकाे भनाइ छ ।

व्यवस्थापनको काममा रातदिन खटिरहेका प्रमुख राईलाई बेला बेलामा जिम्मेवार व्यक्तिले नै असहयोग गरेकोमा चित्त दुखेको छ। मोरङमा लगाइएको निषेधाज्ञा पालना गर्न सबैलाई मेयर राईले अनुरोध गर्नुभयाे । ‘यो तपाईं–हाम्रो स्वास्थ्य सुरक्षाको लागि हो, नियम पालना गरेनौँ भने सङ्कट कसरी पार लगाउन सकिन्छ ?’ उहाँको प्रश्न छ।

‘रोग लाग्नुभन्दा रोग नै लाग्नु नदिनु उचित हो’ भन्दै मेयर राईले ‘हाम्रो देशभन्दा ठूला विकसित र शक्तिशाली राष्ट्रहरु कोरोनाले आजित छन्। हामीले सावधानी अपनाएनौँ भने सखाप हुन केही बेर लाग्दैन।’

‘कोरोनाले ठूलो–सानो, धनी–गरीब, यो वा त्यो भनेर सर्ने कुरामा छूट दिँदैन’, मेयर राईले भन्नुभयाे ‘आफ्नो परिवारलाई लाग्दा मात्र सचेत हुने प्रवृत्तिले विकारालस्थिति ल्याउन सक्छ। त्यसतर्फ सबै सचेत हुनु आवश्यक छ।’

गत वर्षको लकडाउनका बेला मेयर राईको अग्रसरतामा नगरपालिकाले काठमाडौंमा अलपत्र परेका मोरङ रतुवामाईवासीलाई घर पुर्याएको थियो। रतुवामाई नगरपालिकाले आफैँ खर्च व्यहोर्ने गरी पाँच वटा बसको व्यवस्था गरेर र घर फर्काएको थियो।

‘काठमाडौंमा लकडाउनका कारण भोकभोकै मर्छौजस्तो लागेको थियो’, त्यस बेलाको क्षण सम्झदै काठमाडौंबाट घर फर्किएका सोम सानुले भन्नुभयाे , ‘घर फर्काइदिएर मेयर सापले बचाइदिनुभयो, नत्र त्यस बेला के हुन्थ्यो, कल्पना गर्न सक्दिन्। अहिले आफ्नै गाउँमा कलम खेतीसँगै गरिरहेको छु। रोग भन्दा भोकको चिन्ता थियो।’

त्यसो त रतुवामाई नगरपालिकामा विकासको अभियान नै सुरु भएको छ। रविन राई मेयर भएपछि विकासनिर्माणका कामले तीव्रता पाएको हो। युवा जोश, शालिन छवि र विकासप्रेमी उदाहरणीय युवा नेता राईको रतुवामाईप्रतिको स्नेह, त्याग अनि समर्पण अदम्य देखिन्छ।

मेयर राई रतुवामाई नमूना नगरका रुपमा विकास गर्न हरतरहका प्रयासमा जुट्नु भएको छ । कोरोना भाईरसको नयाँ प्रजातिसहितको संक्रमण बढ्दै गएपछि रतुवामाईमा कडाइ गरिएको छ। नगरस्तरीय ‘कोभिड १९ संकट व्यवस्थापन समिति’ को बैठकले अत्यावश्यक बाहेकका बजार पसल बन्द गर्ने निर्णय गरेको छ।

खाद्यवस्तुलगायत निर्माण सामाग्रीका पसलहरु भने स्वास्थ्य मापदण्डको पालना गर्दै दिउँसो १२ बजेसम्म खुल्न पाउने छन। यसको अनुगमन तथा पालना गराउन सुरक्षाकर्मी खटिने छन्।

त्यस्तै, भारतसँगको सीमा क्षेत्रमा थप कडाइ गरी स्थलमार्गबाट आवागमन निषेध गर्ने गरेको छ। बैठकले अर्को निर्णय नभएसम्म नगरपालिका र वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णयसमेत गरेको नगर प्रमुख रविन राईको सचिवालयले जनाएको छ।
बैठकले नगरपालिकाभित्र रहेका बैँक तथा वित्तीय संस्थाहरुले मध्यान्न १२ बजेसम्म मात्र सेवा प्रदान गर्ने निर्णय गरेको छ। बैठकले पिसिआर र एन्टिजेन परीक्षणलाई तीव्रता दिनुका साथै क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनलाई अघि बढाउने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति: २०२१-०५-०७ , समय : १८:५९:०१ , ३ वर्ष अगाडि