मोरङमा राष्ट्रिय सहकारी दिवस भब्य रुपमा मनाइने

Enepal Patra Pvt. Ltd. , १४११  पटक हेरिएको

पथरी(मोरङ),१९ चैत । मोरङका सहकारी संस्थाले शुक्रबार पथरीमा ६४ औं राष्ट्रिय सहकारी दिवस मनाउने भएका छन् ।
बिहीबार पथरीशनिश्चरे १ को आरती बहुउदेश्यीय सहकारी संस्था लि. मा पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमका बारे जानकारी गराइएको हो । कार्यक्रम मुल समारोह समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला सहकारी सङ्घ लि. का अध्यक्ष एवं मूल समारोह समितिका संयोजक डिल्ली पोख्रेलले प्रदेश नं.१ का प्रदेश प्रमुख सोमनाथ अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने जनाउनु भयो । कार्यक्रममा सङ्घीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाल,प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सांसदहरू ,राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष रमेशप्रसाद पोखरेल,नगर तथा गाउँ सरकारका प्रमुखहरूको उपस्थिति रहनेछ ।
पथरीशनिश्चरेका सहकारीमा कार्यरत कर्मचारीहरूको सङ्गठनले निर्माण गरेको बखानसिंह गुरूङको अर्धकदको शालिक सोही अवसरमा अनावरण गरिने छ । गुरूङ नेपालमा सहकारी संस्थाका संस्थापक हुनुहुन्छ । पथरीशनिश्चरे–१० को मनकामना सामूदायिक वन उपभोक्ता समूह परिसरमा निर्माण गएिको शालिकको प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले अनावरण गर्ने कार्यक्रम रहेको छ ।
मर्यादित व्यबसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ ६४ औं सहकारी दिवस एकसाता सम्म विभिन्न कार्यक्रमका साथ मनाइने अध्यक्ष पोखरेलले बताउनु भयो । जिल्लाका विभिन्न सहकारी संस्थाले खेलकुद,रक्तदान,सरसफाई , वृद्धवृद्धालाई सम्मान तथा फलफूल वितरण लगायतका कार्यक्रम आयोजना गरी दिवस मनाइरहेका छन् । मोरङ जिल्लामा विभिन्न प्रकृतिका १ हजार ५० सहकारी संस्था रहेका छन् । ति संस्थामा ३ लाख २६ हजार ४ सय शेयर सदस्य आवद्ध छन् भने २ अर्ब ५७ करोड८३ हजार ४ सय रुपियाँ शेयर पुँजी जम्मा भएको छ । यस्तै १६ अर्ब ८४ करोड२७ लाख ८४ हजार १८६ रुपियाँ बचत निक्षेप रहेको छ । सहकारी संस्थाले मोरङमा १९ अर्ब २६ करोड ३० लाख ८ हजार १ सय रुपियाँ कर्जा प्रवाह गरेका छन् ।

 

प्रकाशित मिति: २०२१-०४-०१ , समय : १७:१४:२७ , ३ वर्ष अगाडि