डाँगीहाटमा प्रदेश स्तरीय फुटबल शनिबार देखि

Enepal Patra Pvt. Ltd. , ७८४  पटक हेरिएको

बेलबारी,६ चैत । मोरङको बेलबारी–९ डाँगीहाटमा चैत ७ गते देखि प्रदेश स्तरीय खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक डाँगीहाट जागृति युवा क्लवले शुक्रबार पत्रकार सम्मेलन गर्दै फुटबल प्रतियोगिता हुने जनाएको हो ।
स्थानीय काली माविको खेल मैदानमा हुने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष प्रभुराम अधिकारीले भन्नुभयो –१७ वर्षयता डाँगीहाटमा फुटबल प्रतियोगिता हुन सकेको थिएन । त्यसैले फुटबल प्रतियोगिता आयोजना गर्ने जमर्को गरेका हौं । अधिकारीका अनुसार प्रतियोगितामा धनकुटा फुटबल क्लब,पथरी फुटबल क्लब,उर्लाबारी फुटबल क्लव , उदयपुर फुटबल क्लब,धरान सिटी एकाडेमी, व्रदर्स युनाइटेड क्लब झापा र आयोजक टिमको रातो र नीलो टिमले भाग लिने छन् ।
बुद्ध एयरका सञ्चालक सुरेन्द्रबहादुर बस्नेतको गाउँमा हुन लागेको प्रतियोगितालाई बुद्ध एयरले मुख्य प्रायोजन गर्ने भएको छ । मुख्य प्रायोजन वापत बुद्ध एयरले २ लाख ५० हजार रुपियाँ दिने भएको छ । यस्तै बेलबारी नगरपालिकाले १ लाख ५० हजार रुपियाँ र वार्ड नं. ९ को कार्यलयले १ लाख रुपियाँ दिने भएको छ । ११ लाख रुपियाँ आम्दानी हुने अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्न १० लाख १२ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताका विजेताले १ लाख १ हजार नगद सहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप विजेताले ५१ हजार र ट्रफि प्राप्त गर्नेछ । प्रत्येक खेलका म्यान अफ दम्याचलाई २ हजार ५ सय नगद सहित मेडल प्रदान गरिने छ । यस्तै फाइनल खेलको दिन विभिन्न सात विधामा विषयगत उपाधि प्रदान गरिने छ । विषयगत उपाधिमा नगद ५ हजार सहित मेडल प्रदान गरिने छ ।
२०४० को दशकमा पूर्व पश्चिम राजमार्ग आसपासमा खेल मैदान नहुँदा सोही मैदानमा जिल्ला र अञ्चल स्तरीय प्रतियोगिता हुने गरेको डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बूले बताउनु भयो ।

प्रकाशित मिति: २०२१-०३-१९ , समय : १८:२८:२३ , ३ वर्ष अगाडि