मितेरी च्यालेन्ज कपको उपाधि धरान सिटी एकेडेमीकाे पाेल्टामा

Enepal Patra Pvt. Ltd. , १०३१  पटक हेरिएको

कानेपोखरी(मोरङ), १फागुन । टाइब्रेकरमा सैनिक युथ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै सुनसरीको धरान सिटी एकेडेमीले मितेरी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७७ को उपाधि जितेको छ ।
मोरङको कानेपोखरी–७ स्थित जनकल्याण माविको खेल मैदानमा भएको फाइनल खेलमा धरान आफ्नो एक खेलाडीले पेनाल्टी प्रहार गर्नु अगावै विजयी भएकाे हाे । धरानका लागि विबेक राई,सचिन श्रेष्ठ ,विटु तामाङ र विनाेद राईले गाेल गरेका थिए। यस्तै सैनिक युथ क्लवका श्याम मुर्मुकाे प्रहार मात्रै गाेलमा परिणत भयाे । सैनिक युथका उत्सव राई र विमन राईकाे प्रहार धरानका गाेल रक्षक विनय श्रेष्ठले बचाए ।
निर्धारित समयमा दुबै टिमले गाेल रहित बराबरी खेलेपछि खेलकाे अन्तिम निर्णय टाइब्रेकरबाट गरिएको थियोे । आजको खेलमा सैनिक युथका दुईवटा प्रहार बचाउने धरानका गाेल रक्षक विनय श्रेष्ठ म्यान अफ द म्याच घाेषित भए।
जितसँगै धरानले ५१ हजारनगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।यस्तै उप बिजेता सैनिक युथले ३१ हजार नगद,ट्रफि र प्रमाणपत्र प्राप्त गर्याे । यस्तै सैनिक युथका राेमन भुजेलले सर्वाधिक गाेलकर्ताकाे उपाधि जिते ।धरानका विनय श्रेष्ठ उत्कृष्ट गाेलकर्ता घाेषित भए भने सैनिकका सजित राई उत्कृष्ट डिफेन्सकाे उपाधिबाट पुरस्कृत भए । धरानका उत्सव राई उत्कृष्ट मिड फिल्डर घाेषित भए ।
यसैगरी धरानका बिनाेद राई उत्कृष्ट स्ट्राइकर घाेषित हुँदा सैनिक युथ झापाका अभिषेक गुरुङ म्यान अफ द सिरिजबाट पुरस्कृत भए । विधागत पुरस्कारकाे राशि नगद ५/५ हजार रुपैयाँ रहेको थियो । विजेता ,उप बिजेतालाई कानेपाेखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले र माेरङ फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमालले संयुक्तरूपमा वितरण गर्नुभयो ।
गत माघ २४ गतेबाट सुरु भएको प्रतियोगितामा प्रदेश नं. १ का ८ टिमले सहभागिता जनाएका थिए । प्रथम पुरस्कार कानेपाेखरी ७ घर भइ हाल हङकङ बस्दै आउनु भएका देवनन्द गुरुङ र सुजन गुरुङले आफ्ना बुबा मानबहादुर र आमा ताराकाे स्मृतिमा साैजन्य गर्नु भएको थियोे ।

प्रकाशित मिति: २०२१-०२-१४ , समय : १०:३१:३८ , ३ वर्ष अगाडि