रमाइलो च्यालेन्ज कप शनिबार देखि

Enepal Patra Pvt. Ltd. , ९६२  पटक हेरिएको

कानेपोखरी , १६ माघ । मोरङको कानेपोखरी–६ स्थित जनसेवा माविको खेल मैदानमा रमाइलो च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
आयोजक कानेपोखरी सेवा समाज काठमाडौंले शुक्रबार गाउँपालिका कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी माघ १७ देखि १९ गते सम्म प्रतियोगिता हुने जनाएको हो । गाउँपालिकाका ७ वडाका ७ टिम र आयोजक कानेपोखरी सेवा समाज काठमाडौंले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । खेलका बारेमा जानकारी गराउँदै समाजका अध्यक्ष मेघेन्द्र पराजुलीले छोटो समयावधिमा कार्यक्रम तय भएकोले ३ दिनमा सबै खेल सक्न लागिएको बताउनु भयो । प्रतियोगिताको विजेताले २५ हजार नगद सहित कप र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै उप विजेताले १० हजार नगद सहित ट्रफि र प्रमाण पत्र पाउनेछ ।
प्रतियोगितामा वार्ड १ देखि ७ सम्मका क्लबहरू क्रमश होक्लावारी युवा क्लव, शुभकामना बहुदेश्यीय क्लब,नव प्रतिभा क्लब,मातृभूमि क्लब,रियल स्टार , हिमालय युनाइटेड र कानेपोखरी युवा क्लबले भाग लिनेछन् । खेल संयोजक जयराज संयोकका अनुसार शनिबार बिहान ११ बजे उद्घाटन खेल हुनेछ । शनिवार नै सेमिफाइनल प्रवेशका लागि हुने ४ वटै खेल हुनेछन् । जिल्ला फुटबल सङ्घ मोरङको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका लागि कानेपोखरी गाउँपालिकाले १ लाख ६३ हजार रुपियाँ सहयोग गरेको छ । कुल ३ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताको बाँकी खर्च आयोजक कानेपोखरी सेवा माज काठमाडौंले ब्योहोर्ने छ ।

                                                                   खेल मैदान अन्तर्राष्ट्रिय मान्यताको बनाइने
कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले गाउँपालिकासँगै जोडिएको जनसेवा माविको खेल मैदानलाई अन्तर्राष्ट्रिय मान्यताको बनाउन पहल थालिने बताउनु भएको छ ।
कानेपोखरी सेवा समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा अतिथिको रुपमा उपस्थित हुनु भएका अध्यक्ष काफ्लेले सबैलाई पायक पर्ने जनसेवा खेल मैदानको स्तरोन्नति गर्न गाउँपालिका नै अग्रसर हुने बताउनु भएको हो । हाल पूर्व –पश्चिम रहेको खेल मैदानलाई उत्तर दक्षिण बनाउन आवश्यक पर्ने जग्गा प्राप्तिका लागि छलफल सुरु भएको छ , उहाँले भन्नुभयो । दक्षिण तर्फका तीन परिवारलाई उचित क्षतिपुर्ति दिएर वा अन्यत्र वसोवासको ब्यवस्था मिलाएर मैदानको स्तरोन्नति गर्न सकिने उहाँको भनाई छ ।
                                                                       पुरस्कार राशि पत्रकार सम्मेलन मै वृद्धि
कुनै समय फुटबल खेलको उर्भर भूमि मानिन्थ्यो मोरङको तत्कालिन बयरवन पञ्चायत र पछि वयरवन गाविस । राज्य पुनर्संरचनापछि यो भूगोलमा केरौन र होक्लाबारी गाविस मिसिएर कानेपोखरी गाउँपालिका बन्यो । केरौन पनि कुनै समय खेल क्षेत्रमा मोरङ जिल्ला कै अब्बल गाउँ मानिन्थ्यो । तर, पछिल्ला दुई दशक यता यो भूगोल खेलकुद क्षेत्रमा गुमनाम झैं भएको छ ।
अढाई दशक पछि कानेपोखरी सेवा समाज काठमाडौंले आयोजना गर्न लागेको प्रतियोगिताको प्रथम पुरस्कार राशि नगद १५ हजार मात्र थियो । तर, पत्रकार सम्मेलनमा नै पुरस्कार राशिको अङ्क अत्यन्तै थोरै भएको गुनासो आयो । गुनासोलाई तत्काल सम्बोधन गर्नुभयो – रमाइलो ब्यापार सङ्घका अध्यक्ष समेत रहनु भएका फुयल सुन चाँदी पसलका सञ्चालक डिल्लीप्रसाद फुयलले । फुयलले दोस्रो पुरस्कार आफूले सौजन्य गर्ने घोषणा गर्नु भएपछि समाजले घोषणा गरेको दोस्रो पुरस्कार राशि १० हजार रुपियाँ प्रथम पुरस्कारमा थप गरिने भएको छ । अब प्रथम पुरस्कारको नगद राशि २५ हजार रुपियाँ भएको छ ।

प्रकाशित मिति: २०२१-०१-२९ , समय : २०:४६:२० , ३ वर्ष अगाडि