अपुताली खान पल्केकाहरू चुनाबसँग डराएका छन् – मन्त्री ढकाल

Enepal Patra Pvt. Ltd. , ६५५  पटक हेरिएको

हरिप्रसाद काेइराला
पथरीशनिश्चरे(मोरङ), ९ माघ । संकृति ,पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले चाेटिएकाे नेकपाका नेताहरूले घेराबन्दीमा पारेर सरकारलाई काम गर्न नदिएको आराेप लगाउनु भएको छ । शुक्रबार मोरङको पथरीशनिश्चरेमा युवा सङ्घ नेपाल पथरीशनिश्चरे नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले साे आराेप लगाउनु भएको हो ।
नेकपाको घर भित्रै बसेर प्रधानमन्त्रीका हात खुट्टा बाँध्न खोज्नेहरूले काम गर्न नदिएपछि नयाँ जनादेश लिन संसद बिघटन गर्नु परेको उल्लेख गर्दै मन्त्री ढकालले अब चुनाबमा जानुको कुनै विकल्प नभएको बताउनु भयो । अपुताली खान पल्केका माधवकुमार नेपालहरू चुनाबसँग डराइरहेको बताउँदै मन्त्री ढकालले भन्नुभयो– चुनाबमा हारिन्छ भन्ने बुझेपछि नेकपा चोइट्याउन खोज्ने केही नेता संसद पुनस्थापना भन्दै सडकमा कराइरहेका छन् ।
आफू कानून मन्त्री छँदा जनताका १६ वटा कानून लेख्ने काम भएको बताउँदै उहाँले सुकुम्बासीलाई ब्यवस्थित गर्ने गरी कानून बनि सकेको र अब धमाधम सुकुम्बासी र अब्यवस्थित बसोबासका समस्या सम्बोधन हुने दाबी गर्नुभयो । स्वास्थ्य मन्त्री हुँदा पनि देशभर ३०९ वटा अस्पताल निर्माण प्रक्रिया सुरु भएको बताउँदै उहाँले विषम परिस्थितिमा धेरै काम भएको भएपनि आफ्नै पार्टीका नेताले विपक्षी कांग्रेसको भन्दा बढी प्रतिपक्षीकाे भुमिका निर्वाह गरेकाे उहाँको भनाई थियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएपछि पथरीशनिश्चरेमा पहिलो पटक औपचारिक कार्यक्रममा आउनु भएका मन्त्री ढकालले संवैधानिक आयोगमा नियुक्ति गर्न पनि नेकपाका प्रचण्ड नेपालले अबरोध गरेको बताउनु भयो । संबैधानिक निकायमा नियुक्ति गर्न पार्टीकै साथीहरूका कारण नपाएपछि प्रधानमन्त्रीले अध्यादेश ल्याउँनु भएको मन्त्री ढकालले बताउनु भयो । नियुक्ति गर्न खाेज्याे नाम नदिने अनि नियुक्ति प्रक्रिया खुकुलो बनाउन अध्यादेश ल्याउँदा अध्यादेशलाई भूकम्प आएजस्तै गरि बिराेध भयो । हातखुट्टा बाँधेर हिड् भन्न मिल्दैन तर,पार्टीका साथीहरूले त्यस्तै गरे । पार्टीमा आन्तरिक सहमति गर्ने अनि सहमति गरेर बाहिर निस्किना साथ प्रधानमन्त्री चाहि हाल्ने,अध्यक्ष चाहिहाल्ने प्रवृतिले मुलुक र पार्टीलाई अस्थिरता र विभाजन तर्फ लगेको हो ,उहाँले माधव नेपाल र प्रचण्डलाई ईङ्कित गर्दै भन्नुभयो ।१७ वर्ष एक छत्र पार्टीको नेतृत्व गर्दा पनि माधव कमरेडलाई नेतृत्वको तिर्खा नसकिनु नै समस्याको जडको हो ,मन्त्री ढकालको भनाइ थियोे ।
आफूले चुनाव ताका बोलेका सबै प्रतिवद्धता पुरा हुनेमा ढुक्क रहन आग्रह गर्दै नेकपाका नेता समेत रहनु भएका ढकालले सडकमा बसेर लोकतन्त्रको बिरोधी केपी ओली हो भन्दैमा प्रधानमन्त्री प्रतिको विश्वास नघट्ने बताउनु भयो । जनताका सामू जानलाई तयार हुन आग्रह गर्दै उहाँले ३४१ जनाको टाउको गनेर हामी यता छौं भन्दैमा जनताको मन जितिन्न,भन्नुभयो । उहाँले ३ करोड नेपाली जनताको मन जित्न प्रधानमन्त्री तयार हुनुहुन्छ । एजेण्डा सहित नेकपा चुनावमा जान तयार रहेको बताउँदै उहाँले चोइटिएका र सडक किनारमा बसेर हामी यता छौं भन्नेहरू नेकपाको प्रतिस्पर्धी नभई नेपाली काङ्ग्रेस नै मुख्य प्रतिस्पर्धी हुने बताउनु भयो ।
कार्यक्रममा बोल्दै बन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बैशाखमा चुनाब भएरै छाड्ने दाबी गर्नुभयो । उहाँले आगामी निर्वाचनमा भीमबहादुर रावलले चुनाव जिते राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभयो । प्रधानमन्त्रीलाई घेरावन्दी गरेकै कारण संसद बिगठन भएको उहाँको भनाई थियो । पारिवारिक कामका लागि मोरङको पथरीशनिश्चरे आउनु भएका मगरले सुदुरपश्चिममा ८० प्रतिशत जनमत प्रधानमन्त्रीको पक्षमा रहेको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा माधव नेपाल र प्रचण्डले चुनाव हार्ने समेत उद्घोष गर्नुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू बिनोद ढकाल,ऋषिकेष पोख्रेल, युवा सङघका केन्द्रीय अध्यक्ष रमेश पौडेल,पुर्व केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेत ,नेकपाका प्रदेश सदस्य देवराज ढकाल लगायतका नेताले बोल्नु भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य युवराज बाँस्काकोटा,पथरीशनिश्चरेे नगरका उप प्रमुख यमुना विष्ट लगायत काे  उपस्थिति थियो ।औपचारिक कार्यक्रम अघि नेकपाका कार्यकर्ताहरूले नगर परिक्रमा समेत गरेका थिए ।

प्रकाशित मिति: २०२१-०१-२२ , समय : २०:३२:३० , ३ वर्ष अगाडि