निर्धारित समयमा नै पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बन्ने

Enepal Patra Pvt. Ltd. , ६३९  पटक हेरिएको

पाेखरा,२ माघ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमै सम्पन्न गर्ने बताउनुभएको छ । बिहीबार विमानस्थलको निरीक्षण गर्दै उहाँले विमानस्थल निर्माणमा देखिएका समस्या समाधान गर्दै निर्धारित मितिमै सम्पन्न गर्ने योजनाअनुसार आफू निरीक्षणमा आएको बताउनुभयो ।
उहाँ लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरी पोखरा आउनुभएको हो । मन्त्री ढकालले विमानस्थल निर्माणको प्रगति र निर्माणमा देखिएको समस्या र अवरोधबारे जानकारी लिँदै समस्याको समाधान खोज्दै निर्धारित समयमै सम्पन्न गर्ने प्रयास गर्ने बताउनुभयो । विमानस्थल निर्माणको प्रगति सन्तोषजनक रहेको भन्दै उहाँले समयमै सम्पन्न गरेर सञ्चालनमा ल्याउने गरी लागेको उल्लेख गर्नुभयो ।
मन्त्रालयका सचिव यादवराज कोइराला, गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साल, गण्डकी प्रदेश सांसद कृष्ण थापासहित ढकालले पोखरा विमानस्थलको अवलोकन गर्नुभएको हो । विमानस्थल निर्माणको प्रगतिबारे आयोजना प्रमुख इन्जिनियर विनेश मुनकर्मीले ब्रिफिङ गर्नुभएको थियो ।
मन्त्रालयका सचिव यादवराज कोइरालाले रनवे तीन हजार मिटर पु¥याउन मिल्ने÷नमिल्ने र पछिल्लो समय भौतिक प्रगति नदेखिनुमा कोरोना भाइरस वा अन्य कुनै कारण छ कि भन्ने प्रश्न गर्नुभएको थियो ।
विमानस्थल आयोजना प्रमुख इन्जिनियर विनेश मुनकर्मीले विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले विमानस्थलमा १४ वटा भवनको निर्माणको काम सम्पन्न पूरा भएको, धावन मार्ग, आइसोलेसन पार्किङ, पहुँच मार्ग, ह्याङ्गर, कार्गो भवन, आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल
(एटीसी) भवन, टर्मिनल भवन, मुख्य प्रवेशद्वारको सडक ढलान, भवनमा पुग्ने सहायक सडक, कार पार्किङ ढलान, आइसोलेटेड पार्किङ, नाला, भवनलगायत पूर्वाधार निर्माणका काम भइसकेको र अहिले फिनिसिङको काम भइरहेको बताउनुभयो । उहाँले भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ५०.२७ प्रतिशत भएको बताउनुभयो । उहाँका अनुसार विमानस्थल निर्माणका लागि अहिलेसम्म १२ अर्ब ६२ करोड रुपियाँ भुक्तानी भइसकेको छ ।
उहाँका अनुसार २२ अर्ब रुपियाँ लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्नेगरी चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले २०७४ असारदेखि विमानस्थलको काम सुरु गरेको थियो । उहाँले अहिले नेपाली र चिनियाँ गरी तीन सय कामदारले काम गरिरहेको बताउनुभयो । कोरोनाका कारण काम प्रभावित भएको बताउनुभयो ।
उहाँले विमानस्थल निर्माणमा केही समस्या देखिएको बताउँदै ती समस्या मन्त्रिपरिषद्ले टुङग्याउनुपर्ने बताउनुभयो । विमान अवतरण गर्न ढिकीडाँडा कटान गर्नुपर्ने भए पनि अहिले वन मन्त्रालयबाट रोकिएको बताउँदै त्यसलाई मन्त्रिपरिषद्बाट पारित गर्नुपर्ने देखिएको बताउनुभयो । उहाँले ल्यान्डफिल्डको व्यवस्थापनले विमानस्थल निर्माण भए पनि सञ्चालनमा समस्या आउन सक्ने बताउनुभयो । त्यस्तै मुख्य सडकबाट आउने पानीले विमानस्थललाई समस्या हुने भएकाले त्यसलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: २०२१-०१-१५ , समय : १९:०७:३७ , ३ वर्ष अगाडि