मुख्यमन्त्री राईसहित ८ जना प्रदेशसभा सदस्य निलम्बित

Enepal Patra Pvt. Ltd. , ४४८  पटक हेरिएको

विराटनगर २८ पुस । । प्रदेश नंं. १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बहुमत पक्षले दलका मुख्यमन्त्री शेरधन राईसहित ८ जना प्रदेशसभा सदस्यहरुलाई निलम्बन गरेको छ ।

मुख्यमन्त्री राईसहित ८ जना सांसदलाई प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको पत्र प्रदेशसभामा सोमबार दर्ता गराइएको छ ।

मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्यत्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरिएको हो । यसअघि दलका नेता एवं मुख्यमन्त्री राई विरुद्ध प्रदेशसभा र संसदीय दलमा अविश्वास प्रस्ताव पेश गरेको समूहले दलको नेतामा भीम आचार्यलाई चुनेको थियो ।

बहुमत सांसहरुको समर्थनमा संसदीय दलको नेता चुनिएका भीमप्रसाद आचार्यद्वारा हस्ताक्षरित निलम्बन पत्रमा दलको कुनैपनि बैठकमा उपस्थित नभएको तथा पार्टीको हित विपरित गतिबिधिमा संलग्न रहेकाले प्रदेशसभाको कुनैपनि गतिविधिमा संलग्न नहुने गरी नेकपाको संसदीय दलको बिधान २०७६ बमोजिम ३ महिनाका लागि निलम्बन गरेको उल्लेख छ । निलम्बन गरेको पत्रको बोधार्थ प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेशसभाका सचिब गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

निलम्बन गरेको पत्र ८ जनालाई नै पठाएको संसदीय दलका उपनेता टंक आङ्बुहाङले जानकारी दिनुभयो । पुस १५ गते संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई सो समूहले हटाएको राईले आफू विरुद्ध अश्विास प्रस्ताव पेश गर्ने १६ जनालाई निलम्बन गरेको पत्र यसअघि नै प्रदेशसभामा दर्ता गराउनुभएको थियो ।

पुस १९ गते बसेको संसदीय दलको बैठकमा उपस्थित नभएको र पार्टी हित बिपरित काम गरेको भन्दै उनीहरुलाई स्पष्टिकरण सोधिएकोमा जवाफ नदिएकोले निलम्बन गरेको आङ्बुहाङले जानकारी दिनुभयो । नेकपाका ६७ प्रदेशसभाका सदस्यमध्ये ३७ जनाले मुख्यमन्त्री रहेका राई विरुद्ध संसदीय दल र प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

प्रकाशित मिति: २०२१-०१-१२ , समय : ०८:४९:४९ , ३ वर्ष अगाडि