नेकपाभित्रका झगडा र राष्ट्रपतिको कार्यशैली, संकटको जिम्मेवार

Enepal Patra Pvt. Ltd. , ३००  पटक हेरिएको

काठमाडौं ,२३ मङ्सिर । नेकपाभित्रको आन्तरिका खिचलोबाट लाभ उठाउने मनसायबाट राजावादीहरुले देशका प्रमुख शहरहरुमा प्रदर्शन गरिरहेका बेला प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज मंलगबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन् । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि आँच आउन नदिन सरकारलाई सचेत गराउँदै देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्री, सरकारका क्रियाकलाप र सत्तासीन दल नेकपाका कारण संविधान र लोकतान्त्रिक व्यवस्थाविरुद्ध आवाज गुन्जिन थालेको निष्कर्ष निकाल्दै कांग्रेसले सर्वदलीय बैठकमा सरकार र प्रधानमन्त्रीलाई यसबारे सचेत गराउने निर्णय गरेको हो । राजतन्त्र लोकतन्त्रको विकल्प हुन नसक्ने भन्दै कार्यकर्ता र जनतालाई सचेत रहन आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठकको तयारीका लागि कांग्रेसका तर्फबाट एजेन्डा तयार गर्न शीर्ष नेताहरूको बैठक बोलाएका थिए । देउवानिवास बुढानीलकण्ठमा भएको बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का थिए । त्यस्तै नेता कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. रामशरण महत, गोपालमान श्रेष्ठलगायत सहभागी थिए ।

आफ्नै पार्टीभित्र तीव्र मतभेद भएको, विपक्षीले संसद् अधिवेशन बोलाउन माग गरेको र राजतन्त्रको पक्षमा ठाउँठाउँमा प्रदर्शन भइरहेका वेला प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गर्नुलाई नेपाली काँग्रेसले सकारात्मक लिएपनि नेकपाभित्रको झगडा र राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाका कारण समेत लोकतान्त्रिक व्यवस्थाप्रति निराशा छाएको कांग्रेसले निष्कर्ष निकालेको  छ  । ‘राष्ट्रपति भइसकेको व्यक्ति कुनै अमूक पार्टीको समर्थक वा नेता होइन, उहाँले आमनेपालीको आस्थाको केन्द्रबिन्दु बन्नुपर्छ, तर अहिले त राष्ट्रपतिको भूमिकामाथि नै प्रश्न उठेको छ’ कांग्रेस बैठकपछि नेता बालकृष्ण खाडले बताएका थिए ।

यसअघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भनाभन भएको थियो । आन्तरिक विवादका विषयमा छलफल गर्न गत आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही मङ्सिर २८ गतेसम्मका लागि स्थगन भएको थियो । स्थायी कमिटीको बैठकका कारण पूर्वनिर्धारित यही मङ्सिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक आगामी पुस ५ गतेका लागि सारिएको छ । पार्टी विभाजनको डिलमा पुगेको बेला पार्टी अध्यक्ष ओली नै आइतबारको बैठकमा गएका थिएनन् र अर्का अध्यक्ष दाहालको आरोपपत्र फिर्ता नभएसम्म पार्टी कमिटीका कुनै बैठकमा नजाने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति: २०२०-१२-०८ , समय : ०९:२९:३८ , ३ वर्ष अगाडि