सुनझोडा – सुवेदी चौक सडक निर्माण गर्दा बचेको १ लाख ५ हजार खोई ?

Enepal Patra Pvt. Ltd. , २०५२  पटक हेरिएको

पथरीशनिश्चरे २२ मङ्सिर । पूर्वी मोरङको पथरीशनिश्चरे – २ , सुबेदी चौकबाट पूर्व पश्चिम राजमार्ग जोड्ने सडक निर्माणका क्रममा उपभोक्ता समितिका अध्यक्षले नै आर्थिक अनियमितता गरेको भन्दै उपभोक्ता समितिका उपाध्यक्ष सहितले छानविनको माग गरेका छन् ।
आइतबार उपाध्यक्ष बलिहाङ सेम्बु ,विजय सुब्बा लगायत स्थानीय सरोकारवालाहरूले २ नं.वडा कार्यालयमा उपभोक्तालाई अन्याय भएको भन्दै उजुरी दर्ता गराएका छन् । गत साउन देखि एकाएक चर्चामा आएको सुबेदी चौकबाट पूर्व पश्चिम राजमार्ग जोड्ने सडक (सेल्फी रोड) सङ्घीय सांसद विकास कोष, चौतारी सामूदायिक वन र स्थानीय चन्दाबाट सङ्कलित रकमबाट निर्माण गरिएको हो । उसबेला सडक निर्माण गर्न सुनझोडा खोला देखि सुबेदी चौक जाने कालोपत्रे बाटो उपभोक्ता समिति गठन भएको थियो । समितिको अध्यक्ष पार्थबहादुर बुढाथोकी र सचिव गङ्गाप्रसाद आचार्य रहेर बनेको उपभोक्ता समितिले सडक निर्माणका लागि कुल ४७ लाख ५२ हजार ६८९ रुपैयाँ सङ्कलन गरेको थियो । जसमध्ये सांसद बिकास कोषबाट ४२ लाख ७१ हजार ६८९ रुपियाँ,चौतारी सामूदायिक वनबाट ३ लाख ३५ हजार र स्थानीय दाताबाट १ लाख ४६ हजार सङ्कलन भएको थियो ।
आर्थिक वर्ष २०७५÷०७६ को बजेटबाट निर्माण भएको सेल्फी रोड भत्किन थालिसकेको छ । तर, उपभोक्ता समितिले सार्वजनिक गरेको हिसाव अनुसार बचत भएको रकम अझै सम्म अध्यक्ष पार्थबहादुर बुढाथोकी कै गोजीमा रहेको देखिन्छ ।अध्यक्ष बुढाथोकीले सडक निर्माण गर्नेमा सुरु देखि नै उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरूसँग छलफल नगरी एकलौटी काम गर्दै आएको आरोप छ । स्थानीय उपभोक्ता पर्शु गुरुङले भन्नुभयो –सुरुमा ग्रेडर र रोलर ल्याएर सडकमा लगाउँदा पनि अध्यक्षले कसैसँग परामर्स नगरी एकल निर्णयमा २ लाख १० हजार रुपियाँ भुक्तान दिनु भएको थियो । ठेकदारसँग कमिसन लिन माहिर बुढाथोकीले पछि काम सम्पन्न भएपछि ४६ लाख ४७ हजार ३६९ रुपियाँ खर्च भएको हिसाव देखाउनु भएको थियो । सङ्कलन भएको रकमबाट खर्च रकम कटौति गर्दा १ लाख ५ हजार ८२० रुपियाँ बचत भएको थियो । जुन पैसा अध्यक्ष बुढाथोकीकै गोजी रहेको उपभोक्ताको आरोप छ । अध्यक्ष बुढाथोकीले १ लाख ५ हजार रुपियाँको हिसाव सार्वजनिक नगरेपछि स्थानीय उपभोक्ताहरू निवेदन सहित वडा कार्यालय पुगेका छन् ।
बुढाथोकीले भने स्थानीय सरकारको आडमा सडक छेउछाउ पुरेर उक्त रकमको हिसाव देखाउने प्रयत्न गरिरहेको बुझिएको छ । तर, सरोकारवालाहरूलाई कुनै सूचना सम्म नदिई माटो पुर्ने काम भएको भन्दै स्थानीयले बिरोध जनाएका छन् ।
यता उपभोक्ता समितिका अध्यक्ष पार्थबहादुर बुढाथोकीसँग घटनाका विषयमा जानकारी लिने प्रयास भएपनि उहाँसँग टेलिफोन सम्पर्क हुन् सकेन ।

प्रकाशित मिति: २०२०-१२-०८ , समय : ०८:४७:१३ , ३ वर्ष अगाडि